मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर दुई हजार ५९४.२७ विन्दुमा बजार बन्द भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि क्रमशः ०.५० र ०.३७ अंकले ओरालो लागेका छन्।
समग्र बजार घटे पनि आज कारोबार रकममा भने वृद्धि भएको छ। सोमबार तीन अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब १० करोडभन्दा माथि पुगेको छ। आज ३५७ कम्पनीका एक करोड ४४ हजार कित्ता सेयर खरिद–बिक्री भए।
नेप्सेका १३ समूहमध्ये विकास बैंक र निर्जीवन बिमा समूह एक प्रतिशतभन्दा कमले वृद्धि हुँदा बाँकी सबै समूह ओरालो लागेका छन्। घटेका ११ वटा समूहको गिरावट पनि एक प्रतिशतभन्दा थोरै छ।
घटेको बजारमा मंगलबार सर्वोत्तम पेन्ट्स र क्रेस्ट माइक्रो फाइनान्सका लागनीकर्ताले १४ प्रतिशतभन्दा बढी आर्जन गर्दा नाडेप लघुवित्त ६ प्रतिशतले वृद्धि भएको छ।
सबैभन्दा धेरै घटेको धौलागिरी लघुवित्तका लगानीकर्ताले १० प्रतिशत गुमाए। यसैगरी नविल डिबेन्चर २०८९, सिटिजन्स सन्तुलित योजना र उन्नति सहकार्य लघुवित्त ५.०७ प्रतिशतदेखि ४.२३ प्रतिशतसम्मले घटेका छन्।