४० दिनपछि कोदारी राजमार्ग अस्थायी रूपमा सञ्चालन भएको छ। ३१ असारबाट बन्द सडकमा तीनवटा ठुला पहिरो पन्छाएर अस्थायी ट्रयाक निर्माण गरिएको हो।
वर्षा कम हुँदै गएपछि सडक डिभिजन कार्यालय चरिकोटले खटाएको ६ एक्स्काभेटर र १२ टिपरले १० दिन लगाएर सडकको नयाँ ट्रयाक निर्माण गरेको हो। डाक्लाङमा भासिएको एक सय मिटर, पहिरोले थिचेको चारकिलोको ५० मिटर र भासिएर सडकको निशाना नै हराएको इको पहिरोको करिब दुई सय मिटर सडकमा सडक डिभिजनले नयाँ अस्थायी ट्रयाक निर्माण गरेको छ।
बाह्रबिसेबाट लिपिङ बसपार्कसम्म सवारीसाधन आवतजावत हुने अवस्था बनेको छ। यद्यपि, लिपिङ बजारको बिचसडक भासिएर भोटेकोशी नदीमा खसेकाले सो सडक निर्माण गर्न अझै एक साता लाग्नेछ। सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले वर्षा कम हुँदै गए अबको केही दिनपछि नेपाल–चीन तातोपानी नाका नियमित हुने बताए।
‘डाक्लाङदेखि इको पहिरोसम्म सडक पन्छाएर अस्थायी बाटो तयार भएको छ,’ उनले भने, ‘तत्कालका लागि सीमाको लाइफलाइन सडक सञ्चालनमा आएको छ।’ स्थानीयसँग सौहार्द छलफल, सडक विभागको भरपूर सहयोग र निर्देशनमा सडक डिभिजन कार्यालय चरिकोटले मिहिनेत गरेर कोदारी सडक नियमित भएको उनले प्रस्ट्याए। लिपिङमा भासिएको सडकको माथिपट्टि रहेका घरको भग्नावशेष पन्छाएर आजैबाट कन्टेनर आवतजावत गराउन लागिपरेको उनले जानकारी दिए।
इको पहिरोमा सडक बन्नसाथ डेढ महिनादेखि कोदारी क्षेत्रमा अड्किएर बसेका मालवाहक कन्टेनर धमाधम तातोपानी भन्सार यार्ड लार्चामा ल्याउन थालिएको छ। अरनिको यातायातका बस र साना गाडी चल्न सुरु भएपछि सीमावासीलाई राहत मिलेको छ। भोलिबाट चिनियाँ क्षेत्रमा रहेका केही कन्टेनर पनि नेपाल प्रवेश गर्नेछन्। यद्यपि, लिपिङमा सडक अझै जोखिमपूर्ण छ।