एक युवकलाई सांघातिक रूपमा आक्रमण गर्ने आठ युवालाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । मन्थली नगरपालिका– ७, भटौलीस्थित कल्लेरी मानेडाँडाका ३५ वर्षीय जीवन विकलाई निर्घात कुटपिट गर्ने आठ युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
करण विकले पुरानो रिसिइवी साधेर जीवनलाई कुट्ने योजना बनाई आइतबार बिहानै राजधानी काठमाडाैंबाट चारवटा मोटरसाइकलमा आठजना मिलेर आएका युवाहरूले जीवनको खाेजी गरेका थिए । उनी आफ्नो घरायसी कामले घरभन्दा केही माथि खाँडादेवी गाउँपालिका– ९, स्कुलडाँडामा बसिरहेको स्थानमा पुगेकाे समूह जीवनलाई भेट्नासाथ निर्घात कुटपिटमा उत्रिएकाे थियाे ।
कुटपिटबाट घटनास्थलमै बेहोस बनेका जीवनलाई स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटना विवरण प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीको टोलीले गम्भीर घाइते भएका जीवन विकलाई उपचारका लागि रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरिएकोमा उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडाैं रेफर गरिएको रामेछाप सामुदायिक अस्पतालका निर्देशक डा. केशव धामीले जानकारी दिए ।
युवकलाई सामूहिक रूपमा सांघातिक आक्रमण गर्ने रामेछाप खाँडादेवी– ३ आँपचौरका २५ वर्षीय गोपाल विक, खाँडादेवी– २, मझुवाका २० वर्षीय दीपेन्द्र लोहार, खाँडादेवी– १, राकाथुमका ३६ वर्षीय नारायण लोहार, मन्थली– ७, कल्लेरीका ३२ वर्षीय करण विक र सोही ठाउँकी २५ वर्षीया विपना खातीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी सोही घटना संलग्न रहेका जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका– ४, डाँगी बस्ने २४ वर्षीय रमन विक, ३० वर्षीय रमेश विक, २० वर्षीय चतुरलाल विक र उनीहरूले प्रयोग गरेका चारवटा मोटरसाइकलसमेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । घटनामा संलग्न सबैलाई कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।