शंखमूल हत्या प्रकरण : होस्टेल सञ्चालक पनि पक्राउ

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौंको शंखमूलस्थित होस्टेलमा शुक्रबार भएको हत्याको घटनामा होस्टेलका सञ्चालक पनि पक्राउ परेका छन्। प्रहरीले होस्टेल सञ्चालक आलोक ठाकुरलाई पक्राउ गरी ज्यान मुद्दामा म्याद थप गरेको छ ।  

यसअघि सो घटनामा दुईजना पक्राउ परेका थिए। शंखमूलस्थित भ्याली ब्वाइज होस्टेलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका– १७ का २२ वर्षीय वसन्त कालाथोकीको शुक्रबार बिहान हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा उपमहानगरपालिका– ३ का १८ वर्षीय शेखर यादव, प्रमित पटेललाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो। तीनैजनालाई आइतबार अदालतमा उपस्थित गराई पाँच दिन थुनामा राख्न म्याद लिइएको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले बताए।   

कोठामा बसिरहेका वेला एक्कासि टी–टेबलले टाउकोमा हानेर उनको हत्या भएको थियो । गम्भीर घाइते भएका उनले उपचारको क्रममा सिभिल अस्पतालमा शुक्रबार १२ बजे मृत्यु भएको थियो । सुरुमा धारिलो हतियार प्रहार गरेको आशंका प्रहरीले गरे पनि प्रत्यक्षदर्शीको भनाइअनुसार टेबलले निधारमा प्रहार गरेको खुलेको छ ।  

प्रारम्भिक अनुसन्धानमा बिहीबार राति उनीहरू सँगै थिए । रातिकै कुनै विवादलाई लिएर त्यसरी आवेगमा आई हत्या गरेको हुन सक्ने प्रहरी आशंका छ । प्रहरीले यादवलाई तत्कालै पक्राउ गरेकोमा पटेललाई भने भाग्दै गर्दा मकवानपुरबाट दिउँसो मात्र पक्राउ गरेको हो । होस्टेल सञ्चालकको पनि चरम लापरबाही देखिएपछि उनी पनि तानिएका छन्। 

सो होस्टेलमा बसेर कालाथोकी कलेजमा अध्ययनरत थिए। उनको हत्याको खबर सुनेपछि दाङमा रहेकी आमा विना कालाथोकीको मृत्यु भएको छ। उनले आत्महत्या गरेको आशंका गरिएको छ।  उनको बुबा मलेसियामा छन्। 

सुझावित समाचार