नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका मतभेद र विवादको समाधान कानुनी प्रक्रियाभन्दा आन्तरिक संवादबाट खोज्नुपर्ने बताएका छन्। शनिबार कांग्रेसद्वारा आयोजित ‘ग्रीन रन’को उद्घाटन कार्यक्रममा बोल्दै शर्माले पार्टीका नेता–कार्यकर्ताले पार्टी कार्यालयमै बसेर छलफल गरी समस्याको निकास निकाल्नुपर्ने धारणा राखे। उनका अनुसार पार्टीभित्रका असहमति अदालतसम्म पुर्याउनु भन्दा आपसी संवाद र सहमतिबाट समाधान खोज्नु उपयुक्त हुन्छ।
शर्माले विशेष महाधिवेशनपछि बनेको वर्तमान नेतृत्वलाई स्थायी संरचना नमान्न आग्रह गर्दै आगामी असोजमा हुने केन्द्रीय महाधिवेशनलाई नेतृत्व छनोटको खुला अवसरका रूपमा चित्रित गरे। सभापति, उपसभापति, महामन्त्रीलगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न इच्छुक नेता–कार्यकर्ताका लागि महाधिवेशनमा अवसर खुला रहेको उनको भनाइ थियो।
उनले राजनीतिक दलको भूमिका सरकार गठन र निर्वाचन जित्ने–हार्ने विषयमा मात्र सीमित हुन नहुने बताए। दलहरूले समाजका समस्या, नागरिकका सरोकार र सामाजिक न्यायका मुद्दामा पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
यसैक्रममा शर्माले बालिका गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे। न्यायको माग गर्दै भएको प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै उनले घटनाका दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्याय दिलाउन माग गरे।