कैलाश गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र आवश्यकतामा आधारित बनाउन ‘शिक्षक बैंक व्यवस्थापन कार्यविधि– २०८३’ पारित गरेको छ । गाउँ शिक्षा समितिले तयार गरेको कार्यविधि गाउँ कार्यपालिकाको बैठकले पारित गरेको हो । कार्यविधि पारित भएसँगै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी तथा जनशक्ति व्यवस्थापनमा देखिँदै आएको समस्या समाधान गर्न शिक्षक बैंकमार्फत शिक्षक परिचालन गरिने भएको छ।
गाउँ शिक्षा समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार विद्यार्थी संख्या, विषयगत आवश्यकता र विद्यालयमा उपलब्ध शिक्षकको अवस्थाका आधारमा शिक्षक परिचालन गरिनेछ । शिक्षक अभाव भएका विद्यालयमा आवश्यकताअनुसार शिक्षक उपलब्ध गराउने तथा कतिपय विद्यालयमा बढी भएका शिक्षकलाई आवश्यकताका आधारमा व्यवस्थापन गर्ने उद्देश्यले शिक्षक बैंक स्थापना गरिएको हो ।
‘भौगोलिक रूपमा विकट तथा ग्रामीण क्षेत्रका विद्यालयमा समेत गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने हाम्रो लक्ष्य हो,’ अध्यक्ष मुक्तानले भने, ‘शिक्षक अभावका कारण पठनपाठन प्रभावित हुन नदिन शिक्षक बैंकमार्फत आवश्यकताका आधारमा शिक्षक परिचालन गरिनेछ ।’
शिक्षक बैंकमार्फत विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी पारदर्शी र व्यवस्थित ढंगले शिक्षक परिचालन गर्न सकिने गाउँपालिकाको विश्वास छ । यसबाट विद्यार्थीको सिकाइ उपलब्धि सुधार हुनुका साथै सामुदायिक विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बिदा र सरुवाका कारण हुने शिक्षक अभाव पनि सम्बोधन हुने
गाउँपालिकाका अनुसार शिक्षक सुत्केरी बिदा, किरिया बिदा वा अन्य लामो बिदामा बस्दा तथा शिक्षक सरुवा भई तत्काल दरबन्दी रिक्त हुँदा विद्यालयमा पठनपाठन प्रभावित हुने गरेको छ। त्यस्तै, शिक्षक अवकाशमा जाँदा नयाँ शिक्षक व्यवस्थापनमा समय लाग्ने समस्या पनि छ।
यस्ता अवस्थामा शिक्षक बैंकबाट आवश्यकताअनुसार शिक्षक परिचालन गरिनेछ। शिक्षक व्यवस्थापन, शिक्षक आपूर्ति, सिकाइ सुनिश्चितता, शैक्षिक क्षति न्यूनीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी शिक्षक बैंक स्थापना गरिएको अध्यक्ष मुक्तानले बताए।
शिक्षा शाखा प्रमुख समीर जोशीले सामुदायिक विद्यालयमा आवश्यक शिक्षक व्यवस्थापनसँगै आंशिक शिक्षक आवश्यकताको पूर्ति गरी सिकाइ क्षति न्यूनीकरण गर्नु शिक्षक बैंकको मुख्य उद्देश्य रहेको बताए। ‘गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ। पूर्वाधार विकाससँगै शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ उपलब्धि वृद्धिलाई पनि प्राथमिकता दिएका छौँ,’ जोशीले भने।
उनका अनुसार शिक्षक बैंकलाई शिक्षण सेवा प्रवाहको स्रोतका रूपमा विकास गरिनेछ। दुर्गम क्षेत्र, आपतकालीन अवस्था तथा शिक्षक अवकाश वा बिदामा रहेको अवस्थामा विद्यालयको मागअनुसार शिक्षक बैंकबाट शिक्षक परिचालन गर्न सकिनेछ।
गाउँपालिकाका स्रोत शिक्षक ध्रुवराज विष्टका अनुसार शिक्षक बैंकमा सूचीकृत शिक्षकलाई पूर्णकालीन रूपमा एउटै विद्यालयमा नियुक्त गर्नेभन्दा आवश्यकता र समयअनुसार परिचालन गरिनेछ। ‘शिक्षक बैंकमा रहेका शिक्षकलाई विद्यालयको माग र आवश्यकताका आधारमा परिचालन गरी शैक्षिक सेवालाई निरन्तरता दिइनेछ,’ विष्टले भने।
कार्यविधिअनुसार शिक्षक बैंकमा सूचीकृत हुन प्रारम्भिक बाल विकास सहजकर्ता तथा विद्यालय सहायक कर्मचारी र लेखापालका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ। प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षकका लागि भने सम्बन्धित तहमा शिक्षा आयोगले निर्धारण गरेको न्यूनतम योग्यता पूरा गरेको हुनुपर्नेछ।
कैलाश गाउँपालिकामा हाल ६ वटा माध्यमिक, चारवटा निम्नमाध्यमिक, २३ वटा प्राथमिक र १० वटा आधारभूत गरी ४३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। भौगोलिक रूपमा विकट तथा ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा शिक्षकको नियमित उपलब्धता सुनिश्चित गर्न शिक्षक बैंक महत्त्वपूर्ण हुने गाउँपालिकाको अपेक्षा छ। विशेषगरी शिक्षक अभाव, बिदा तथा दरबन्दी रिक्तताका कारण हुने पठनपाठनको अवरोधलाई तत्काल सम्बोधन गर्दै बालबालिकाको सिकाइलाई निरन्तरता दिने लक्ष्य गाउँपालिकाले लिएको जनाएको छ।