सिराहा र सप्तरीका मुसहर : बाढी आउँदा रोकिन्छ बालबालिकाको पढाइ

राज्यले पर्याप्त ध्यान नपुर्‍याउँदा दलितभित्र पनि सीमान्त मुसहर समुदायका नागरिक शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

बर्खा सुरु भएपछि सिराहाको मिर्चैया नगरपालिका–९ ढोढना गाउँको मुसहर बस्तीका बालबालिकाका लागि विद्यालय जाने बाटो हराउँछ । गाउँदेखि करिब पाँच सय मिटर पूर्वतर्फ रहेको जनता आधारभूत विद्यालय पुग्न उनीहरू पानीमा हेलिनुपर्छ ।

बतहा खोलाकिनारमा रहेको ७० घरको यो बस्ती हिउँदमा सामान्य देखिए पनि बर्खा लागेपछि खेत, पैनी र जरुवाको पानी गाउँतर्फ सोझिन्छ । पानीको निकास नहुँदा बस्ती डुबानमा पर्छ । पानी नसुकुन्जेल बालबालिकाको विद्यालयको बाटो छेकिन्छ ।

स्थानीय ५७ वर्षीय रामप्रसाद सदायका अनुसार बस्तीका ३५ बालबालिका विद्यालय जाने गरेका छन् । तर, बर्खामा बतहा खोलासँगै जरुवा, पैनी र खेतको पानी बस्तीमा पस्दा उनीहरूको पढाइ प्रभावित हुन्छ । ‘जरुवा खोलाको पानी बस्ती हुँदै दक्षिणतर्फ पर्ने पिप्रा, मथलेश्वर, सोनी गधवा, सीतापुरसम्म पुग्छ । बर्खामा पानी पर्नेबित्तिकै गाउँ डुबानमा पर्छ । बच्चाबच्चीको स्कुल छुट्छ,’ उनले भने । दुई वर्षअघि असोजको बाढीले त एक सातासम्म विस्थापित नै गराएको थियो ।

गाउँदेखि उत्तरतर्फ भगवतपुर जाने बाटोमा बतहा खोलामाथि झोलुंगे पुल बनेकाले फूलबरिया मावि पढ्ने माथिल्लो कक्षाका विद्यार्थीलाई केही सहज छ । तर, गाउँनजिकैको आधारभूत विद्यालयमा पढ्ने साना बालबालिकाका लागि जोखिम छ । ढोढना गाउँकी बेचनीदेवी सदायका दुई नातिनातिनी कक्षा २ र ३ मा पढिरहेका छन् । ‘दुई–चार घण्टा पानी पर्‍यो भने स्कुल जाने बाटो नै बन्द हुने भएकाले विद्यालय पठाउन सक्दैनौँ,’ उनले सुनाइन् ।

यो समस्या ढोढनामा मात्रै छैन
मिर्चैया नगरपालिका–३ बतहा खोलाकिनारको बकथलवा गाउँको मुसहर बस्तीमा पनि बर्खा लागेपछि विद्यालय जाने बालबालिकाको बाटो अवरुद्ध हुन्छ । राघोपुर बजारबाट करिब एक सय मिटर पश्चिम–दक्षिणमा रहेको यो सुकुमबासी बस्तीमा खोला र खेतको पानी पस्ने गरेको कलसीदेवी सदायले बताइन् । ‘झरी परेपछि बालबालिका राघोपुर बजारमा रहेको जनता आधारभूत विद्यालय पढ्न जान पाउँदैनन्,’ उनी भन्छिन् ।

बस्ती जोगाउन बनाइएको तटबन्ध पनि जीर्ण छ । सामान्य मर्मत गरिएको भए पनि ठुलो बाढी आए जुनसुकै वेला भत्किन सक्ने स्थानीयको चिन्ता छ । बस्तीका किशोर नीरज सदायका लागि यो केवल बाढीको समस्या होइन, शिक्षाको अधिकारसँग जोडिएको विषय हो । गरिबीका कारण मुसहर बालबालिकाले आधारभूत तहसम्मको शिक्षा पूरा गर्नसमेत संघर्ष गरिरहेको अवस्थामा बर्खाको डुबानले उनीहरूको पढाइमा थप अवरोध सिर्जना गरिरहेको उनी बताउँछन् ।

लहान नगरपालिका–१ मटियर्वा गाउँको कथा पनि उस्तै छ । सञ्चालनमा नरहेको नहरको किनारमा २५ घर मुसहर परिवार बस्छन् । लहान–७ हुँदै आएको नाला तथा वरपरका खेतबारीको पानी नहरमा मिसिन्छ । नहर ठाउँठाउँमा थुनिँदा बर्खामा बस्ती डुबानमा पर्ने गरेको छ । स्थानीय सोनावती सदायका छोरा आशिष कक्षा २ मा पढिरहेका छन् । ‘बर्खामा त हामी स्कुल पठाउँदैनौँ, बाढीको डर लाग्छ,’ उनले भनिन् ।

शिलादेवी सदायका छोरा विभान्त सदाय बाल विकासमा पढिरहेका छन् । ‘ठुला मान्छेलाई त हिँड्डुल गर्न समस्या छ, सानो छोरालाई पानीमा हेलिएर जान जोखिम हुने भएकाले विद्यालय पुर्‍याउने र ल्याउने गरिरहेकी छु,’ उनले सुनाइन् । 

दुई वर्षअघि आएको ठुलो बाढीले नहरको तीन ठाउँमा डिल भत्कियो । पानी बस्तीमा पस्यो । स्थानीय र सुरक्षाकर्मीले उद्धार गरी गाउँनजिकैको सामुदायिक विद्यालयमा वासको व्यवस्था गरे ।

मानवीय क्षति भएन । तर, विद्यालय आश्रयस्थल बनेपछि पढाइ कसरी चल्थ्यो ?

सोनियावती सदायका अनुसार भत्किएको बाँध अहिलेसम्म पूर्ण रूपमा मर्मत भएको छैन । अहिले पनि दुई–तीन फिट पानीमा हेलिएर हिँड्नुपर्ने अवस्था आउँछ । यसको प्रत्यक्ष असर सात सय मिटर टाढाको लेखनाथ आधारभूत विद्यालयमा पढ्ने साना बालबालिकामाथि परेको छ ।

स्थानीयले चन्दा उठाएर बनाएको बाँसको अस्थायी पुलसमेत बाढीले बगाएपछि पानीमा हेलिएर आवतजावत गर्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ । ‘ससाना बालबालिकालाई विद्यालय जान–आउन झन् समस्या छ,’ सदाय भन्छिन् ।

बस्तीकी शिलादेवी सदायका अनुसार नहरको डिलमै घर बनाएर बसिरहेका परिवारका लागि बर्खा हरेक वर्ष जोखिम बोकेर आउँछ । इन्द्रादेवी सदायका अनुसार कमला नदीको डुबान र बाढीले हिँड्डुल गर्न नसक्ने भएपछि बालबालिका घरमै बस्न बाध्य हुन्छन् । ‘भूमिहीन सुकुमबासी बाध्यतावश नहरको डिलमा असुरक्षित रूपमा बसिरहेका छौँ,’ उनी भन्छिन्, ‘हाम्रो समस्या कसले बुझिदिने ?’

कल्याणपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख जयप्रसाद दासले डुबानका वेला प्रभावितलाई विद्यालयमै राखिने भएकाले अवस्था सहज नहुन्जेल विद्यालय प्रायः बन्द हुने गरेको बताए । ‘गाउँमा बाढी आएपछि त विद्यालय नै बन्द हुन्छन् । विस्थापित बस्ने नै विद्यालयमा हो,’ उनले भने, ‘पढाइ छुटेकाको हकमा विद्यालयले थप कक्षा, कोचिङ सञ्चालन र गृहकार्य गराउँछ ।’ 

कल्याणपुर नगरपालिका–३ इटारी प्रसाहीमा रहेको आधारभूत विद्यालयका प्रधानाध्यापक सुमिन्द्रा मण्डलले प्रायः बर्खामा डुबान हुने भएकाले विद्यालय बन्द हुने गरेको बताइन् । ‘डुबानमा परेका बस्तीका बालबालिकाका लागि किताब भिज्छ । नयाँ किताब दिनुपर्छ । त्यसपछि मात्र पढाइ हुन्छ,’ उनले सुनाइन् । 

कमला नदीतटीय क्षेत्रमा पर्ने कल्याणपुर नगरपालिका–३ इटारी प्रसाही गाउँमा ०७६ साउनको पहिलो साता कमलाको बाढी पस्दा करिब ३० घर मुसहर बस्ती डुबानमा परेको थियो ।

कमला नदी नियन्त्रण आयोजनाअन्तर्गत निर्माण गरिएको पूर्वी तटबन्ध तथा ‘एन्टी–फ्लड स्लुस गेट’को काम अधुरो रहँदा बाढी गाउँ पसेको स्थानीय बताउँछन् । त्यतिवेला विद्यालय विद्यार्थीका लागि पढ्ने ठाउँ रहेन । गाउँको विद्यालय बाढीपीडितको आश्रयस्थल बन्यो । एक महिनासम्म विद्यार्थीले पढ्न पाएनन् । ‘खान बस्न नै समस्या भएको वेला एक महिना गाउँका विद्यार्थीले पढ्न नै पाएनन्,’ नेपाल राष्ट्रिय मुसहर संघका प्रवक्ता सुलिन्दर सदायले भने, ‘छिमेकी जमुवा गाउँको मुसहर बस्तीमा पनि करिब पाँच दर्जन घर बाढीमा डुबेपछि स्थानीय डेढ महिनासम्म विद्यालयमै आश्रय लिएर बसे ।’

स्थानीय वृद्ध भुल्ली सदायका अनुसार त्यतिवेला ज्यान जोगाउनु नै ठुलो कुरा थियो । बालबालिकाको पढाइ त्यसपछि मात्रै सम्झिने विषय बनेको थियो । त्यस बाढीले कल्याणपुर नगरपालिका–१२ बेलहा, सिराहा नगरपालिका–१२ सारश्वर र वडा नम्बर ६ को बसबिट्टालगायत करिब एक दर्जन गाउँ प्रभावित भएको जिल्ला विपत्् व्यवस्थापन समितिको विवरणमा उल्लेख छ ।

सप्तरीको तिलाठीकोइलाठी गाउँपालिका–४ मुसहर बस्तीमा ७० परिवार घर पक्की छन् । संघसंस्थाको सहयोगमा घर त बनेका छन् । तर, तीनतिरबाट नदीले घेरिएको बस्तीले बाढीबाट उन्मुक्ति पाएको छैन । ‘उत्तरतिर महुली र पश्चिमतिरबाट खाँडो नदी बग्छ, अनि पूर्वतर्फबाट बहने कोशीको बहावले पनि बस्तीलाई छाड्दैन । स्थानीय जितनीदेवी सदाका सात नातीनातिना स्कुल जान्छन् । ‘बर्खामा घरभित्रै पानी पस्छ । आँगनमा कम्मरसम्म पानी आउँछ,’ उनले भनिन्, ‘हामी त पानी परे स्कुल पठाउँदैनौँ । घाम लागे, बाढी नआए मात्र पठाउँछौँ ।’ डेढ किलोमिटर टाढा राष्ट्रिय आधारभूत विद्यालय डलवा छ । 

बस्तीमा समस्याका चाङ
भूमिहीन तथा सुकुमबासी मुसहर बस्ती अनगिन्ती समस्यासँग जुधिरहेको छ । पर्याप्त शौचालय छैन । स्वच्छ खानेपानीको सुनिश्चितता छैन । गुणस्तरीय शिक्षा, स्वास्थ्यमा पहुँच छैन । ०७८ को जनगणनाअनुसार नेपालमा ३२ जिल्लामा बसोवास रहेको मुसहरको जनसंख्या दुई लाख ६४५ हजार ९७४ छ । जसमध्ये मधेशमा मात्र एक लाख ७९ हजार १५३ छन् । नेपाल राष्ट्रिय मुसहर संघका अनुसार करिब ८० प्रतिशत भूमिहीन रहेका मुसहरको जनसंख्या सिराहामा मात्र ४७ हजार ५०० छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरको करिब २५० घरपरिवारको मुसहर बस्ती यसको उदाहरण हो । यहाँका अधिकांश परिवार मजदुरी गरेर जीविका चलाउँछन् । केही राजविराज तथा आसपासका सहरमा निर्माण मजदुरका रूपमा काम गर्छन् भने केही भारतको हरियाणा, पञ्जाबसम्म पुगेका छन् । वडा सदस्यसमेत रहेकी स्थानीय रितादेवी सदायका अनुसार बस्तीका अधिकांश परिवार ऐलानी जग्गामा बसिरहेका छन् । पक्की शौचालय छैन । सामूहिक रूपमा रहेको चापाकलको पानीमा निर्भर हुनुपर्छ । ‘हाम्रोमा समस्या धेरै छ । हामी सबै ऐलानी जग्गामा बसेका छौँ । पक्की शौचालय छैन, सामूहिक रूपमा चापाकल छ, त्यहीँको पानी खानुपर्छ,’ उनी भन्छिन्, ‘खान लगाउन धौधौ हुन्छ, कसरी उपचार गराउनु ?’ यहाँका बालकालिका घरदेखि एक किलोमिटर टाढा रहेको राष्ट्रिय आधारभूत विद्यालय पढ्न जान्छन् । तर, बिचमै पढाइ छाड्ने अधिक छन् । अस्मिता सदाका श्रीमान् श्याम सदा मजदुरी गर्छन् । अस्मिता चार छोराछोरी हुर्काइरहेकी छिन् । उनकी जेठी छोरी गीताले स्कुल छाडिसकेकी छिन् । ‘गीताले साइकल नभई स्कुल जान्न भन्यो । ८ कक्षामा पढाइ छाडेर, खेतबारीमा मजदुरी गर्न थालेकी छ,’ अस्मिताले भनिन्, ‘अरू छोराछोरी पढिरहेका छन् । कापीकिताब, ड्रेस पुर्‍याउन गाह्रो भइरहेको छ ।’ यही बस्तीकी १५ वर्षीया निशा सदाले पनि पढाइ छाडेकी छिन् ।

५७ वर्षीया विनमा सदा १० कट्ठा अधियाँमा खेती गरिरहेकी छन् । ‘हामीसँग जग्गा छैन । अरूको खेत कमाएर खाइरहेका छौँ,’ उनले भनिन्, ‘खान त पुगेको छ तर बिरामी भए अस्पताल जाने पैसा हुँदैन ।’

नेपाल राष्ट्रिय मुसहर संघका प्रवक्ता सुलिन्दर सदायले धेरैजसो मुसहर परिवार नदीकिनार तथा पर्तीमा बसिरहेको र त्यसमा पनि ठुलो परिवार हुने भएकाले शिक्षा, स्वास्थ्य र पोषण उपलब्ध हुन नसकेको बताए । ‘भूमिहीनलाई खेती गर्न पाउने गरी जग्गा दिनुपर्‍यो । त्यसपछि उनीहरूले परिवार पाल्न सक्छन् । शिक्षा, स्वास्थ्यमा पहुँच हुन्छ,’ उनले भने, ‘मजदुरीको भरमा परिवार पाल्नुपर्छ । बिरामी भए उपचार गराउन सक्दैनन् । सरकारको स्वास्थ्य बिमाको शुल्क तिर्न पनि पैसा हुँदैन ।’ मधेश सरकारले मुसहरसहित विपन्न परिवारका लागि जनता आवास कार्यक्रम ल्याए पनि बहुसंख्यक आवासविहीन मुसहर परिवारको घर बन्न नसकेको उनले बताए ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले विपत्बाट बालबालिका, वृद्धवृद्धा, गर्भवती, अपांगता भएका व्यक्ति बढी जोखिममा हुने गरेको बताइन् । ‘बाढीले सबैलाई प्रभावित गर्छ । तर, सबैको जोखिम बराबर हुँदैन । विपन्न परिवारका बालबालिकाले बाढीको असर केही कम भोग्न सक्छन्,’ उनले भनिन्, ‘प्राधिकरणले पनि जोखिममा रहेका वर्गलाई प्राथमिकतामा राखेर पुनर्निर्माण र राहत कार्यक्रम सञ्चालन गर्छ । विषयगत मन्त्रालय र निकायले पनि त्यहीअनुसार काम गरिरहेका हुन्छन् ।’

सुझावित समाचार