बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापामगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६३ प्रदेश सभा सदस्यको समर्थनमा सरकार गठनको दाबी गरेका थापा बागमती प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन्।
प्रदेश प्रमुखले तोकेको समयसीमाभित्र एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल र राप्रपा संसदीय दलका नेता उद्धव थापाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरिएको थियो। सोही दाबीका आधारमा प्रदेश प्रमुख देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।