दाङमा ३७ नाल अवैध भरुवा बन्दुक बरामद

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

दाङ प्रहरीले जिल्लाका विभिन्न जंगलमा लुकाइछिपाई राखिएका ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा भदौ १ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट ती बन्दुक बरामद गरिएको हो। बरामद भएका सबै बन्दुक एकनाले भरुवा बन्दुक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खिलतपुर, कमिरेचौर, बन्नौ, मलवार, हापुरे, नर्ती, पुरन्धार, रामपुर, दुईखोली, चिराघाट, बेलुवा र छिल्लीकोटबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थानमा लुकाइएका बन्दुक फेला पारेका हुन्।

कमिरेचौर प्रहरी टोलीले बंगलाचुलीका विभिन्न वन क्षेत्रबाट सात नाल, बन्नौ प्रहरी टोलीले लमही– ७ बन्गैस्थित स्वर्गद्वारी सामुदायिक वनबाट नाै नाल तथा रामपुर प्रहरी टोलीले बंगलाचुली क्षेत्रबाट सात नाल बरामद गरेको प्रहरीले जनाएको छ। अन्य टोलीले समेत जिल्लाका विभिन्न वन क्षेत्रबाट १४ नाल बन्दुक बरामद गरेका छन्।

प्रहरीले बरामद भएका बन्दुकबारे थप अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले अवैध हतियार नियन्त्रणका लागि विशेष अपरेसनलाई निरन्तरता दिइने बताएका छन्।

सुझावित समाचार