राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुग्दैमा संविधान संशोधनका लागि पर्याप्त नहुने बताएका छन्।
बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिमा धारणा राख्दै उनले संविधान संशोधनजस्तो संवेदनशील विषय उठाउँदा कानुन र संवैधानिक व्यवस्थालाई ध्यान दिन सांसदहरूलाई आग्रह गरे।
लामिछानेले अहिलेको संविधान र जनताको म्यान्डेटअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थाको मानमर्दन गर्न नहुने बताए। व्यक्तिप्रतिको असन्तुष्टिका कारण संस्थालाई कमजोर बनाउँदा अन्ततः लोकतन्त्र र प्रणाली नै कमजोर हुने उनको भनाइ छ।
उनले संविधान संशोधन गर्नुपरे पनि लोकतान्त्रिक संस्थालाई थप बलियो बनाउने वा कम्तीमा क्षयीकरण हुन नदिने गरी समाधान खोज्नुपर्ने बताए।