संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा यस वर्ष नेपालबाट परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधत्व गर्ने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा महासभाको ८१औँ सत्रमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए । परराष्ट्रमन्त्री खनालको नेतृत्वमा सानो आकारको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय जानेछ ।
संयुक्त राष्ट्रसंघीय सूचना केन्द्रका अनुसार महासभाको ८१औँ सत्र २३ भदौबाट सुरु हुनेछ, ७ असोजमा जेनरल डिबेट हुनेछ । जेनरल डिबेटमा सहभागी राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख, मन्त्री वा प्रतिनिधिमण्डलका नेतृत्वले सम्बोधन गर्नेछन् । परराष्ट्रमन्त्री खनालले महासभाको सत्रमा आयोजित जेनेरल डिबेटलाईे सम्बोधन गर्नेछन् ।
संयुक्त राष्ट्रसंघको महासभाको सत्रमा विश्वभरिबाट उच्चस्तरीय प्रतिनिधित्व हुनेछ । त्यही अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभाको सत्रमा सहभागी सबै देशका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूलाई स्वागत समारोहमा निमन्त्रणा गर्नेछन् । उक्त स्वागत समारोहमा पनि परराष्ट्रमन्त्री खनाल सहभागी हुनेछन् ।
गत वर्ष २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारले गत वर्ष नेपालबाट प्रतिनिधिमण्डल न्युयोर्क पठाएन । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भए र उनले नै नेपालको तर्फबाट सम्बोधन गरेका थिए । यस वर्ष परराष्ट्रमन्त्री खनालले नेपालको मन्तव्य दिनेछन् ।
गत चैतको निर्वाचनपछि नेपालमा राजनीतिक स्थिरताको सन्देश दिन प्रधानमन्त्री बालेन शाहले भ्रमण गर्नुपर्ने सुझाव थियो । तर, प्रधानमन्त्री शाहले विदेश भ्रमण गर्ने इच्छा देखाएका छैनन् । प्रधानमन्त्री शाहले केही समय विदेश भ्रमण नगर्ने अडान राखेका छन् ।