जाजरकोटमा सुरक्षाकर्मी र प्रजिअले पैदलमार्गबाट बोकेरै राहत सामग्री बोकेर पुर्याउन थालेका छन्। बाढी–पहिरो प्रभावित क्षेत्रमा सडक डिभिजन कार्यालय चौरजहारीले सडक खुलाउन चासो नदेखाएपछि पैदलमार्ग हुँदै राहत सामग्री पुर्याउन सुरु गरेका हुन् । जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षाकर्मीको अग्रसरमा अस्थायी बाटो बनाउँदै राहत सामग्री ढुवानी गर्न थालेको छ ।
विभिन्न दाताहरूबाट प्राप्त राहत सामग्रीको सुरक्षाकर्मीमार्फत सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए। प्रभावित क्षेत्रमा पुग्न सडक अवरुद्ध भएको छ। बारम्बार सडक डिभिजन कार्यालय चौरजारीलाई सडक खुलाइदिन अनुरोध गर्दासमेत अटेरी गर्दै आएको उनको भनाइ छ।
सोमबार सम्पन्न विपत् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार उक्त सडक सडक डिभिजन कार्यालय चौरजारीले नियमित गर्ने निर्णय गरेको थियो। विपतबाट प्रभावित रारा–लुम्बिनी राजमार्गअन्तर्गत राङ्सी सडकखण्ड र भेरी करिडोर जाजरकोट डोल्पा–सडकखण्डअन्तर्गतको चौखा खण्डको सञ्चालन तत्काल सडक डिभिजन, चौरजहारी र भेरी करिडोर, जाजरकोटले गर्ने निर्णयमा उल्लेख गरिएको छ।
लामो समय निर्माणकार्य अलपत्र अवस्थामा रहेको उक्त सडक कार्यालयले समेत नियमित गर्न तदारुकता नदेखाएको वडाध्यक्ष भीमबहादुर कार्कीले बताए। सुरक्षाकर्मीहरूले जोखिम मोलेर पहिरोले बिगारेको पैदलमार्ग मर्मत गरी तत्काल आवतजावत गर्न मिल्ने बनाएका हुन्। सडक सञ्चालनमा नआएपछि खाद्यान्न, पानी तथा अन्य आवश्यक राहत सामग्री बोकेरै प्रभावित परिवारसम्म पुर्याउने काम सुरु गरिएको छ।
सोमबार दिउँसो राहत सामग्री बोकेर पैदल गएका सुरक्षाकर्मी कोटखोलाबाट फिर्ता भएका थिए। निर्णय भएको लामो समय बितिसक्दा पनि सडक सञ्चालनमा आउन सकेको छैन। सडक नखुल्दा राहत सामग्री जिल्ला विपत् व्यवस्थापन समितिको गोदाममा थन्किएपछि प्रभावित नागरिकसम्म राहत पुर्याउन सुरक्षाकर्मीले वैकल्पिक बाटो रोज्नुपरेको हो।
भेरी नगरपालिका– २, रिसाङलगायत बाढी–पहिरो प्रभावित क्षेत्रमा अझै ठुलो संख्यामा नागरिक अस्थायी आश्रयमा बसिरहेका छन्। घरबास गुमाएका परिवारलाई खाद्यान्न, खानेपानी, औषधि, त्रिपाल तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता छ। सडक सञ्चालनमा नआए राहत सामग्रीको नियमित आपूर्तिमा थप समस्या हुने स्थानीयको चिन्ता छ।
सडक नखुल्दा प्रभावित क्षेत्रमा सरकारी उपस्थिति र राहत व्यवस्थापनमा समस्या भइरहेको भेरी नगरपालिका– २ का वडाध्यक्ष कार्कीले बताए।
सडक सञ्चालनका लागि मेसिन बाहिरबाट ल्याउनुपरेकोले ढिला हुन गएको सडक डिभिजन कार्यालय, चौरजहारीका डिभिजन प्रमुख ई. खुमबहादुर भण्डारीले बताए।
नगरपालिकाको प्रारम्भिक विवरणअनुसार भेरी नगरपालिका– २ मा ११ घर तथा एउटा कुटानी–पिसानी मिल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। भेरी–३ मा तीनवटा र भेरी–१ मा एउटा घर पूर्ण रूपमा क्षति भएका छन्। करिब तीन सय घरधुरी आंशिकदेखि पूर्ण जोखिममा रहेका छन्।
बाढी–पहिरोबाट विस्थापित नागरिकलाई त्रिभुवन आधारभूत विद्यालय, विष्णु प्राथमिक विद्यालय दार्नेटा, स्याला विजय प्राथमिक विद्यालय तथा महिला आश्रम तल्लो थाप्लेलगायतका स्थानमा अस्थायी रूपमा राखिएको छ। ती आश्रय केन्द्रमा गरी करिब ७८० जना नागरिक रहेको नगरपालिकाको प्रारम्भिक तथ्यांक छ। यता, बाढी–पहिरोले खानेपानीका संरचनामा क्षति पुर्याएपछि सदरमुकामआसपासका बस्तीमा समेत खानेपानीको समस्या बढ्दै गएको छ।