सांसद नरेन्द्रकुमार केरुङले देशभर बाढी, पहिरो र डुबानका घटना बढ्दै जाँदा नागरिकको ज्यान गइरहेको, सडक तथा पुल भत्किएको र खेतबारी बगिरहेको अवस्थामा सरकारको विपत् व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केरुङले विपतका कारण गाउँबस्ती जोखिममा परेको र नागरिकले ज्यान गुमाइरहेको अवस्थामा सरकार भने संवेदनशील नभएको आरोप लगाए। उनले भने, ‘विपत् आउँछ, नागरिकले ज्यान गुमाउँछ, घर र बस्ती डुब्छ। तर, सरकार रोम जलिरहेको वेला निरो बाँसुरी बजाइरहेकोजस्तो अवस्थामा छ।’
उनले सरकार यतिवेला कहाँ छ भन्दै प्रश्न गर्दै गोरखामा भोट फिर्ता गर्न व्यस्त रहेको हो कि भन्दै व्यंग्यसमेत गरे। बाढीपहिरो र डुबानसँगै ग्यास तथा मलको अभावको समस्या पनि गम्भीर बन्दै गएको उनको भनाइ थियो।
सुकुमवासी बस्ती व्यवस्थापनका नाममा राज्यको चरम लापरबाही र संवेदनहीनताका कारण निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै केरुङले सरकारको ध्यानाकर्षण गराए। उनले सुकुमवासी बस्तीका नागरिक कहाँ छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे सरकारले चासो दिएको छ कि छैन भन्ने प्रश्न गरे।
सरकार मानवीय संवेदनशीलता गुमाएको र अमानवीयजस्तो देखिएको टिप्पणी गर्दै उनले सरकार सबै नागरिकको अभिभावक बन्नुपर्ने बताए। ‘सरकार सबैको अभिभावक बन्नुपर्छ, आतंक होइन,’ केरुङले भने।