ललितपुर महानगरपालिकाले चिकित्सकसहित एम्बुलेन्स सेवा सुरु गरेको छ । बिरामीको घरमै वा घटनास्थलमै स्वास्थ्य सेवा दिन र आवश्यक निगरानीमा राखेर अस्पतालसम्म ल्याउन थालेको छ । पहिलो चरणमा तीनवटा एम्बुलेन्सबाट सेवा प्रवाह गर्ने महानगरले जनाएको छ । जसमा क, ख र ग वर्गका एम्बुलेन्स छन् ।
तीन एम्बुलेन्समा दुई–दुईजनाका दरले एमबिबिएस डाक्टर राखिएको छ । उनीहरूले बिरामीको घरमै पुगेर जाँच तथा उपचार गर्दै अस्पतालसम्म ल्याउँछन् । यो सेवा प्राप्त गरेबापत बिरामीले कुनै शुल्क तिर्नुपर्दैन । यी एम्बुलेन्स सोमबारदेखि औपचारिक रूपमा महानगर क्षेत्रभित्र गुड्न थालिसकेका छन् । एम्बुलेन्समा स्लाइन पानीदेखि अक्सिजन पाइपहरू जडान गरिएका छन् । त्यस्तै, आकस्मिक उपचारका लागि चाहिने औषधि पनि राखिएको छ । सर्वसाधारणले ११३१ मा फोन गरेर यो सेवा लिन पाउँछन् ।
यो उपचार सेवाले कुनै दुर्घटना, हृदयाघात, स्ट्रोक, अत्यधिक रक्तस्राव वा अन्य गम्भीर अवस्थाका बिरामीलाई ठुलो लाभ मिल्ने ललितपुरका मेयर चिरिबाबु महर्जनले बताए । ‘हामीले यो सेवा ललितपुर महानगरपालिकाभित्र दिन्छौँ, घरघरमै एम्बुलेन्स र चिकित्सकसहितको टोली पुगेपछि निकै सहज हुन्छ, सुरुमा तीनवटा एम्बुलेन्स छ, अझै दुईवटा थप्छौँ,’ उनले भने, ‘जोखिम अवस्थाका बिरामीका लागि यसप्रकारको उपचार सेवा चाहिन्छ भनेर हामीले सुरु गरेका हौँ ।’
मेयर महर्जनले सूचना प्राप्त भएको १० मिनेटभित्रै घटनास्थलमा एम्बुलेन्स टिम पुगिसक्ने मेयर महर्जनले बताए । आफूले फिलिपिन्समा देखेको प्रयोगलाई महानगरमा अनुकरण गरेको उनको भनाइ छ । ‘यो मेरो नितान्त भिन्न योजना थियो, यसलाई मूर्तरूप दिनुपर्छ भनेर हामीले गत असारमा सम्पन्न नवौँ नगरसभाबाट प्रस्ताव पारित ग¥यौँ, त्यसपछि बजेट व्यवस्थापन पनि ग¥यौँ,’ उनले भने, ‘१ साउनदेखि सुरु गर्ने भनिए पनि आवश्यक तयारी नपुग्दा १ भदौसम्म लागेको हो । अब यो सेवा निरन्तर चलिरहन्छ ।’
सेवा उद्घाटन गर्दै संघीय स्वास्थ्यमन्त्री निशा मेहताले यसबाट बिरामीको उपचार सहज हुने र अस्पताल पुग्नुअगावै उपचार पाउँदा जोखिम कम हुने बताइन् । ‘एम्बुलेन्स सेवामा पारामेडिक्स मात्र नभई मेडिकल अफिसरसहितको सेवा संसारकै थोरै देशमा मात्र छ, जुन कार्य ललितपुर महानगरपालिकाले पनि ग¥यो,’ उनले भनिन्, ‘एम्बुलेन्ससँगै डाक्टर पनि गएर वेलैमा उपचार सेवा दिने भएकाले बिरामीको ज्यान बढी सुरक्षित हुन्छ ।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले ललितपुर महानगरपालिकाले सुरु गरेको यो कदम नौलो र सुरक्षित सेवाको नमुना रहेको बताए । उनका अनुसार यस्तो सेवालाई ‘प्रि–हस्पिटल केयर’का रूपमा पनि लिने गरिन्छ । विकसित देशहरूमा यस्तो किसिमको सुविधायुक्त एम्बुलेन्स सेवा प्रवाह गरिन्छ । ‘उदाहरण हेर्ने हो भने संसारभर दुई–तीनवटा देशमा मात्रै यस्तो एम्बुलेन्स सेवा होला, प्रायजसो एम्बुलेन्स सेवामा पारामेडिक्स राखिएका हुन्छन्,’ उनले भने, ‘ललितपुर महानगरपालिकाले थालेको प्रयास एकदमै सराहनीय छ ।’ यस्तो सेवाले खासगरी दुर्घटनाका घाइते, अचानक बेहोस भएका बिरामी, हृदयघात र रक्तस्राव भएका बिरामीका लागि बढी लाभदायी हुने उनले बताए ।
पाटन अस्पतालका ६ डाक्टरले दिनेछन् एम्बुलेन्समा सेवा, उनीहरूको तलब महानगरले नै व्यहोर्नेे
तीन एम्बुलेन्समा दुई–दुईजना गरी ६ डाक्टर उपलब्ध गराउन महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेको छ । ललितपुर महानगरपालिकाभित्रका अधिकांश बिरामी उपचारका लागि पाटन अस्पतालमै पुग्ने गर्छन् । सोही कारण पनि पाटन अस्पतालले महानगरले ल्याएको योजना सफल बनाउन डाक्टर उपलब्ध गराउने सहमति गरेको छ । उनीहरूको तलब महानगरले नै व्यहोर्नेछ ।
ललितपुर महानगर र पाटन अस्पतालकै सहकार्यमा एक वर्षदेखि स्वास्थ्य केन्द्र पनि सञ्चालन गरिँदै आएको छ । जसबाट साउनमा मात्रै १० हजार ४१ ले उपचार सेवा लिएका छन् । जसमध्ये तीन हजार २५६ जनाले अल्ट्रासाउन्ड सेवा लिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले जानकारी दिए ।
देशमै आवश्यकताभन्दा कम छन् एम्बुलेन्स
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर झन्डै चार हजार एम्बुलेन्स चाहिन्छ । तर, अहिले दुई हजारहाराहारी मात्रै छन् । यसमा पनि क र ख वर्गका एम्बुलेन्सको संख्या निकै कम छ । ‘क’ वर्गका २७ र ‘ख’ वर्गका ४३६ एम्बुलेन्स चलिरहेका छन् । यीमध्ये पनि ‘क’ वर्गका २० र ‘ख’ वर्गका २८० एम्बुलेन्स काठमाडौंकेन्द्रित छन् । सुविधासम्पन्न अस्पताल र एम्बुलेन्स काठमाडौंमै केन्द्रित हुँदा उपत्यकाबाहिर दुर्घटना वा अन्य आपत्कालीन अवस्थामा सहज उद्धार र उपचार नपाउने अवस्था छ ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार १० वर्षभन्दा पुराना एम्बुलेन्स चलाउन पाइँदैन । तर, १० वर्ष पुराना ८५० एम्बुलेन्स गुडिरहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार हाल देशभर सबै वर्गका गरेर दुई हजार ७९ एम्बुलेन्स सञ्चालन भइरहेका छन् । तर, तीमध्ये पाँच सयहाराहारी एम्बुलेन्स मात्रै नवीकरण भएको मन्त्रालयको अभिलेख छ । अधिकांश एम्बुलेन्स नवीकरण नै नगरी गुडाउने गरिएको छ ।