भीमफेदी दुर्घटना : मुख्य न्यायाधीश डाँगीसहित चारजना घाइतेलाई काठमाडौं लगियो, दुईको हेटौँडामा उपचार हुँदै

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका– ६, जुरीखेतमा दुर्घटना भएको स्कारपियोमा सवार चारजना घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

दुर्घटनामा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, उच्च अदालत वीरगन्जका रजिस्ट्रार तारादत्त बडू, चालक छुनिलाल चौधरी, रजिस्ट्रारकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू र रिता बडू घाइते भएका छन् ।

घाइतेमध्ये मुख्य न्यायाधीश डाँगी, रजिस्ट्रार तारादत्त बडूकी श्रीमती लक्ष्मी, छोरा रितेन्द्र र रितालाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल लगिएको हो । यस्तै, रजिस्ट्रार तारादत्त बडू  र स्कारपियोचालक छुनिलाल चौधरीलाई हेटौँडा ल्याइएको छ ।

उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो काठमाडौंबाट वीरगन्जतर्फ आउने क्रममा आज बिहान करिब ७ बजे मकवानपुरको भीमफेदी गाउँपालिका– ६, जुरीखेतमा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार लक्ष्मी बडूको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मुख्य न्यायाधीश डाँगी, चालक चौधरी, रजिस्ट्रार बडू, रितेन्द्र बडू र रिता बडूको अवस्था मध्यम रहेको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहितको टोलीले उद्धार गरी सबै घाइतेलाई भीमफेदी अस्पताल पुर्याएको थियो ।

सुझावित समाचार