देउवाले विचारको उचाइ बनाएर होइन, शक्तिसँग जोडिएर राजनीति गरेका हुन् : महामन्त्री पौडेल

‘नेमप्लेट राखेर कोही सभापति हुँदैन’

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण
देउवाले विचारको उचाइ बनाएर होइन, शक्तिसँग जोडिएर राजनीति गरेका हुन् : महामन्त्री पौडेल

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति शेरबहादुर देउवा रेफ्री हुनुपर्नेमा गुटको जर्सी लगाएर फर्किएकाे बताएका छन्।

सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले भने, ‘हामीले अपेक्षा गरेका थियौँ, शेरबहादुर दाइ रेफ्री भएर फर्कनुहुन्छ। कुनै टिमको जर्सी लगाएर फर्कनुहुन्न भन्ने हाम्रो अपेक्षा थियो, तर हामी अपेक्षा गर्नेहरू पनि त्यस्तै हौँ।’

शक्ति केन्द्रसँग नजिकिएर राजनीति गरेका देउवाले विचारको उचाइ प्राप्त गर्ने अवसर पाए पनि त्यसको सदुपयोग नगरेको महामन्त्री पौडेलको बुझाइ छ।

उनले भने, ‘शेरबहादुर दाइले मेसेज बनाएर राजनीति गर्नु भएको होइन। विचारको उचाइ बनाएर राजनीति गर्नुभएको होइन। गुट बनाएर, शक्तिसँग जोडिएर राजनीति गर्नुभएको हो। त्यसैले विचारको उचाइ प्राप्त हुने जुन अवसर थियो, हाम्रो आदरणीय पूर्वसभापतिज्यूले गुमाउनुभयो।’

सभापतिको नेमप्लेट राख्दैमा कोही सभापति नहुने स्पष्ट पार्दै पौडेलले सुशासनको विपक्षमा उभिनेहरूको जिम्मा लिन नसकिने बताए।

‘सभापतिको नेमप्लेट राखेर कोही सभापति हुने होइन। कुनै ढंगले पनि वैधानिक मान्न नमिल्ने भेलामा दस्ताबेज प्रस्तुत गरेर त्यो आधिकारिक हुने होइन। अनि नेपाली कांग्रेसको सभापतिलाई तत्कालीन महामन्त्री भनेर कसैको पनि उचाइ बढ्दैन। सुशासनको विपक्षमा रहेको दाग लाग्छ। त्यसको जिम्मा लिन पनि जरुरी छैन,’ उनले भने।

सुझावित समाचार