वैशाखयता १६ जनाले गुमाए ज्यान, बढी जोखिममा अधबैँसेहरू

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

१० वर्षअघि नै नियन्त्रण गरेको भनिएको जापानिज इन्सेफ्लाइटिस बल्झिँदै

नेपालले १० वर्षअघि सन् २०१६ मै नियन्त्रण गरिसकेको भनिएको संक्रामक रोगमध्येकै घातक जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण फेरि बल्झिएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार पछिल्लो चार महिना (१ वैशाखदेखि ३० साउनसम्म)मा मात्रै १६ जनाको ज्यान गएको छ । जेईको मृत्युदर यति भयावह छ कि ५८ जनामा संक्रमण भएकामा १६ अर्थात् २७.५८ प्रतिशतको मृत्यु भएको हो । 

गत वर्ष सोही अवधिमा जेई संक्रमणबाट १४ जनाको ज्यान गएको थियो । सिंगो आर्थिक वर्ष ०८१/८२ मा ८६ मा संक्रमण हुँदा २५ जना अर्थात् २९ प्रतिशतको मृत्यु भएको थियो । गत वर्ष मृत्युदर चितवन र कपिलवस्तुमा धेरै भएकामा यसपटक झापामा देखिएको छ । चार महिनामा १६ को मृत्यु हुँदा झापाका पाँचजना छन् । 

क्युलेक्स प्रजातिको लामखुट्टेले कुखुरा, गाई, भैँसी, सुँगर र हाँस आदिलाई टोक्छ । त्यही लामखुट्टेले मानिसलाई टोक्यो भने जापानिज इन्सेफ्लाइटिस हुन्छ । यस्तो प्रकारको लामखुट्टेले धान खेतमा बढी फुल पार्छ । त्यहीँबाट बढी फैलिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सन् २०१६ मै नियन्त्रण भएको जापानिज इन्सेफ्लाइटिस फेरि बल्झिएको बताए । ‘यो रोग एकताका नेपालमा निकै फैलियो, त्रास पनि सिर्जना गर्यो, तर नियन्त्रणमा आयो । दुई–तीन वर्षयता यसको संक्रमण उच्च रूपमा बढिरहेको छ, डेंगुको पछि लाग्दा पहिले नै नियन्त्रण गरिसकेको रोग फेरि बढ्दै छ,’ उनले भने, ‘यसबाट मृत्यु हुनेको संख्या बढी छ, अधबैँसे र त्यसमाथिको समूहमा मृत्युदर बढी देखिएको छ ।’

सन् २०१६ अघि बालबालिकामा खोप नलाउँदा उनीहरूकै मृत्युदर बढी थियो । तर, अहिले यो समस्या अधबैँसे र त्यसमाथि उमेर समूहमा सरेको छ । डेंगुपछि जेई पनि नियन्त्रणका लागि टाउको दुखाइ बनेको डा. पुनले बताए । ‘अब नयाँ शिराबाट अनुसन्धान गरेर यसको नियन्त्रणमुखी कार्यक्रम गर्न जरुरी छ,’ उनले भने । 

हाल सरकारले जन्मिएको १२ महिनामा बालबालिकालाई जेईको खोप वितरण गर्छ । वार्षिक ६ लाख खोप लगाइन्छ । यो खोप सरकारले नै खरिद गरेर वितरण गर्दै आएको छ । खोपमा वार्षिक १२ करोड खर्च गर्दै आएको छ । खोप नलगाएका उमेर समूह जेईको जोखिममा पर्ने गरेका छन् । 

परिवार कल्याण महाशाखाको अध्ययनअनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुने जेई संक्रमणबाट हुने मृत्युदर ३० प्रतिशतसम्म हुन्छ । यो डेंगुभन्दा निकै खतरनाक मानिन्छ । डेंगु गराउने एडिस प्रजातिको लामखुट्टेले टोक्दा मृत्युदर ५ प्रतिशतसम्म हुन्छ । 

नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देहीबाट जेई संक्रमण देखापरेको थियो । त्यसपछि सन् २०१३ मा कैलालीमा संक्रमण देखियो । सन् २००६ देखि केही जोखिम देखिएका जिल्लामा यसको खोप लगाउन थालिएको थियो । सन् २०१६ देखि भने देशैभर बालबालिकामा खोप कार्यक्रम सञ्चालन हुन थालेको थियो ।

नेपालमा जेई संक्रमणका कारण बर्सेनि मृत्युदर बढ्दो रहेको भन्दै विश्व स्वास्थ्य संगठन, नेपालले सचेत हुन अनुरोधसमेत गर्दै आएको छ । डब्लुएचओको तथ्यांकअनुसार जेईबाट विश्वमा वार्षिक १५ हजारको मृत्यु हुन्छ । विश्वको तथ्यांक हेर्दा जेईको संक्रमणबाट सबैभन्दा बढी १५ वर्षमुनिका बालबालिका प्रताडित हुन्छन् ।

नेपालमा अधबैँसे उमेर समूहलाई किन जोखिम ?
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जेईविरुद्ध सन् २०१६ देखि बालबालिकामा नियमित खोप दिन थालिएको थियो । तर, त्यसअघि नियमित खोप थिएन । त्यति वेला संक्रमण देखिएका ३१ जिल्लामा मात्रै दिइएको थियो । सन् २०१६ यता खोप पाएका र त्यसअघि केही जिल्लामा खोप लगाएकाबाहेकलाई अहिले जोखिम छ । ‘खोप लगाएकाहरूमा यसको संक्रमण र मृत्यु हुने दर खासै देखिँदैन, तर खोप नलगाएका अधबैँसे उमेर समूहका व्यक्तिको मृत्युदर बढी छ,’ उनले भने । 

यसरी सर्छ जापानिज इन्सेफ्लाइटिस 
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेले टोक्दा जापानिज इन्सेफ्लाइटिसको संक्रमण हुन्छ । ‘क्युलेक्स प्रजातिको लामखुट्टेले टोक्यो भने यो संक्रमण हुने हो, असारदेखि असोजसम्मको मौसम यस्तो प्रकारको रोग सार्ने लामखुट्टेको लागि उपयुक्त हुन्छ,’ उनले भने, ‘क्युलेक्स प्रजातिको लामखुट्टेले कुखुरा, गाई, भैँसी, सुँगर र हाँस आदिलाई टोक्छ । त्यही लामखुट्टेले मानिसलाई टोक्यो भने जापानिज इन्सेफ्लाइटिस हुन्छ ।

यस्तो प्रकारको लामखुट्टेले धान खेतमा बढी फुल पार्छ । त्यहीँबाट बढी फैलिन्छ ।’ चिकित्सकहरूका अनुसार लामखुट्टे नष्ट अभियानले मात्रै नियन्त्रण हुँदैन । डेंगु गराउने एडिस प्रजातिको लामखुट्टे सानो भाँडाको पानी वा सफा पानीमा बस्ने भएकाले नियन्त्रण सम्भव भए पनि जेई गराउने लामखुट्टे पोखरी, धानखेत, जनावर भएको स्थान र धेरै पानी जम्मा भएको स्थानमा हुने भएकाले यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । जेईबाट जोगिने मुख्य उपाय भनेको सचेतता र खोप नै रहेको चिकित्सकहरूको भनाइ छ । 

यो प्रजातिको लामखुट्टे बिहान र साँझको समयमा बढी सक्रिय हुन्छ । टोकाइबाट जोगिन जाली तथा झुलको प्रयोग गर्न, पशुपक्षीलाई टोकाइबाट जोगाउन, धानखेतमा जाँदा बढी सजग हुन र शरीर छोप्ने गरी लुगा लगाउन डा. गौतमको सुझाव छ । जेईका कारण उच्च ज्वरो आउने र जोडले टाउको दुख्ने हुन्छ । बिरामीको होस नै हराउने बनाउँछ । बोल्दाबोल्दै बिरामी बेहोस हुन्छ । मुख्यतः दिमागमा असर गर्ने भएकाले मानसिक रूपमा विक्षिप्त पार्न सक्छ । कसैलाई त प्यारालाइसिस गराइदिन्छ । डा. गौतमका अनुसार छिटो उपचार भए निको हुने र ढिलो गर्दा मृत्यु हुने जोखिम हुन्छ । भ्याक्सिन लगाएको व्यक्ति ९५ प्रतिशत सुरक्षित रहने उनले बताए । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्– सन् २०१६ मै नियन्त्रण भएको जापानिज इन्सेफ्लाइटिस फेरि बल्झिएको छ । यो रोग एकताका नेपालमा निकै फैलियो, त्रास पनि सिर्जना ग¥यो, तर नियन्त्रणमा आयो । दुई–तीन वर्षयता यसको संक्रमण उच्च रूपमा बढिरहेको छ, डेंगुको पछि लाग्दा पहिले नै नियन्त्रण गरिसकेको रोग फेरि बढ्दै छ । यसबाट मृत्यु हुनेको संख्या बढी छ, अधबैँसे र त्यसमाथिको समूहमा मृत्युदर बढी देखिएको छ । अब नयाँ शिराबाट अनुसन्धान गरेर यसको नियन्त्रणमुखी कार्यक्रम गर्न जरुरी छ ।

सुझावित समाचार