आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

सरकारले तोकेका केन्द्रबाट आइतबार उपत्यकामा ९ हजार ग्यास सिलिन्डर बिक्री

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा सञ्चालित सात बिक्री केन्द्रसहित ९ स्थानबाट आइतबार काठमाडौं उपत्यकामा कुल ९ हजार २२६ थान ग्यास सिलिन्डर बिक्री भएको छ।

आयल निगमको टेकुस्थित पुरानो कार्यालयबाट २ हजार २५०, बुढानीलकण्ठस्थित पशु सेवा शाखा (चपली)बाट ५७०, कीर्तिपुरको राधास्वामीपरिसरबाट ५७०, न्युरोडको जुडो हलपरिसरबाट सात सय, तारकेश्वर नगरपालिका कार्यालयबाट ४८०, चन्द्रागिरि नगरपालिका कार्यालयबाट ८५०, ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट एक हजार ९०४ र बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ३५ थान ग्यास सिलिन्डर बिक्री भएको छ। 

रास्वपाले भोलिदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका सुझाव र चासोलाई नीति निर्माणसँग जोड्ने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ।

पार्टी केन्द्रीय समितिको निर्णयअनुसार भोलिदेखि सुरु हुने उक्त कार्यक्रमअन्तर्गत भदौ ४ गते विशेष छलफल आयोजना गरिने भएको छ। पहिलो छलफलमा रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुने पार्टीले जनाएको छ।

देउवा नेतृत्वको कार्यसमितिले १५औँ महाधिवेशन गर्ने इतर समूहको निर्णय

नेपाली कांग्रेसको संस्थापन इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। इतर पक्षको राष्ट्रिय भेलाले शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको हो।

‘उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढविश्वास यो सम्मेलनले व्यक्त गर्दछ। १५औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ,’ निर्णयमा भनिएको छ।

किर्नाजस्तो टन्न खाएपछि छाड्ने प्रवृत्ति एमालेमा चल्दैन : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीभित्र अवसर लिएका नै अहिले असन्तुष्ट भएको जिकिर गरेका छन्। झापाको बिर्तामोडमा नेकपा एमाले झापाको मिसन पार्टी जागरण शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले आफूलाई अध्यक्षबाट हटाउन पार्टीभित्र अवसर पाउने नै लागिपरेको बताएका हुन्।

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनपछि एमालेमा पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय उठ्दै आएको छ। ओलीले यसको पक्षमा बहस गर्ने नेता–कार्यकर्तालाई कटाक्ष गरेका हुन्। उनले पार्टीमा अवसर पाएकाले एमालेलाई भैँसी बनाउन खोजेको आरोप लगाए। पार्टीमा अवसर नपाएकाले गत २१ फागुनको निर्वाचनमा भोट हालेको र अवसर पाएकाले भोट नहालेको दाबी गरे।

भारतीय सेना प्रमुख सेठ काठमाडौंमा

भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ काठमाडौं आइपुगेका छन्। चारदिने नेपाल भ्रमणका लागि सेठ आइतबार काठमाडौं आएका हुन्।

जाजरकोटमा पहिरोमा परी चारजनाको मृत्यु, जोखिममा रहेका दुई सय नागरिक सुरक्षित स्थानमा सारिए

जाजरकोटको भेरी नगरपालिका– २, रिसाङ क्षेत्रमा पहिरोको जोखिममा रहेका करिब ६० देखि ७० घरपरिवारका १५० देखि दुई सयजनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि स्थानीय नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानान्तरण गरिएका नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खड्काका अनुसार प्रहरीको समन्वयमा जाजरकोट स्वास्थ्य सेवा कार्यालयबाट स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरी स्थानान्तरण गरिएका नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको हो।

प्रमुख जिल्ला अधिकारी खडादन्द अधिकारीका अनुसार पहिरोको जोखिममा रहेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। विपतका समयमा नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण तथा स्वास्थ्य सेवामा सहजीकरण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए।

यसैबिच, पहिरोमा परी चारजनाको मृत्यु भएको छ। भेरी नगरपालिका– २, फारुलाका करिब ५४ वर्षीया उमा सिंह खत्री र ७७ वर्षीया रति खत्री तथा चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरूको थप उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ।

पहिरोमा परी नौजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जनाको नेपालगन्ज र सुर्खेतका अस्पतालमा उपचार भइरहेको छ।

विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि थप विद्युत् व्यापार अपरिहार्य रहेको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको फ्राइडे फोरममा बोल्दै वर्तमान अवस्थामा विद्युत् खेर जाने अवस्थाको अन्त्य र भविष्यमा विद्युत् उत्पादनका लगानी गरिसकेको अर्बौ संरक्षणको लागि पनि विद्युत व्यापारमा निजी क्षेत्रको अपरिहार्यता रहेको बताएका हुन्।

व्यक्तिको स्वार्थअनुकूल बिपीको व्याख्या गर्न दिनुहुँदैन : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले बिपी कोइरालालाई नेताहरूले आफूअनुकूल व्याख्या गर्न थालेको भन्दै असन्तुष्टि जनाएका छन्।

धर्म गौतमको पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ विमोचन गर्दै सभापति थापाले भने, ‘पछिल्लो समय हाम्रो परम्परा के रह्यो भने आफूलाई जहाँ चाहिन्छ, बिपी कोइरालालाई त्यहाँ प्रयोग गर्ने। बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले ब्यापक आइरहेको छ। नेताहरूले रातारात बिपीलाई सम्झनुभएको छ।’

नेताहरूको छुद्र भाषाले नै वामपन्थी जनमतलाई भड्कायो : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेताहरूको छुद्र भाषाकै कारण वामपन्थी जनमत भड्किएको टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।

भाषाको सही प्रयोग गर्न नसक्दा आन्दोलन र आन्दोलनका नेताप्रति नै अनास्था र अविश्वास पैदा हुने प्रस्ट्याउँदै उनले भने, ‘नेकपाकालभित्रको अन्तरसंघर्ष र त्यसक्रममा नेताहरूले एकले अर्कालाई आलोचना गर्न प्रयोग गरेका छुद्र भाषाहरू नै वामपन्थी जनमतलाई भड्काउने विषय बन्यो।’

अनुगमनका लागि आएका मन्त्री लम्साल बिरामी भएपछि सेनाको स्काई ट्रकबाट काठमाडौँ लगियो

सुदूरपश्चिममा निर्माणाधीन सरकारी आयोजनाको अनुगमनका लागि आएका भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल बिरामी परेका छन्।

बैतडी पुगेपछि बिरामी भएका मन्त्री लम्साललाई उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं लगिएको छ। उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइएको थियो। धनगढीबाट सेनाको स्काई ट्रकबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई धनगढी विमानस्थलबाटै काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना बताए।

सुझावित समाचार