नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीभित्र अवसर लिएका नै अहिले असन्तुष्ट भएको जिकिर गरेका छन्। झापाको बिर्तामोडमा नेकपा एमाले झापाको मिसन पार्टी जागरण शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले आफूलाई अध्यक्षबाट हटाउन पार्टीभित्र अवसर पाउने नै लागिपरेको बताएका हुन्।
२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनपछि एमालेमा पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय उठ्दै आएको छ। ओलीले यसको पक्षमा बहस गर्ने नेता–कार्यकर्तालाई कटाक्ष गरेका हुन्। उनले पार्टीमा अवसर पाएकाले एमालेलाई भैँसी बनाउन खोजेको आरोप लगाए। पार्टीमा अवसर नपाएकाले गत २१ फागुनको निर्वाचनमा भोट हालेको र अवसर पाएकाले भोट नहालेको दाबी गरे।
‘पार्टीबाट अवसर लिने नै असन्तुष्ट छन्। किर्नाले पनि टन्न खाएर अघाएपछि भौँसीको जिउबाट पुक्लुक्क भुँइमा झर्छ। एमालेलाई पनि भैँसी बनाउन खोजेका छन्, साथीहरूले। खाइञ्जेल खाने, खाएर टिल्ल भएपछि छाड्दिने। एमाले त्यस्तो पार्टी हाेइन,’ ओलीले भने, ‘राधे राधे ओड्ने, भित्र छुरी राखेर हिँड्ने प्रवृत्ति एमालेमा हुँदैन। केही नपाएकाले यसपटक पनि भोट हाले। केही पाएकाले यसपटक पनि भोट हालेनन्। केही मान्छे यस्तो निस्किए जो पाइरहन चाहन्छन्। अर्काले पाउने भयो भने बुरुक्क उफ्रिन्छन्।’
उनले पार्टी अध्यक्ष हटाउनुपर्ने भए पार्टीको आन्तरिक बैठकमा कुरा राख्नुपर्ने बताए। उनले सामाजिक सञ्जाल र हस्ताक्षर अभियान चलाउनु गलत भएको बताए। यो पार्टीभित्र अराजक प्रवृत्ति भएको उनको भनाइ थियो। उनले अध्यक्ष हटाउने कुरा सडकछाप कुरा भएको भन्दै यस विषयमा छलफल पनि गर्न नचाहेको बताए।
‘यो केही स्वार्थी, महत्त्वाकांक्षीहरूको कुरा हो,’ ओलीले भने। ओलीले अहिलेसम्म आफूले कसैलाई कडा वचनमा नबोलेको दाबी गरे।
गृहजिल्लामा बोल्न दिइएन मुख्यमन्त्री कार्कीलाई
हिक्मतकुमार कार्की कोशी प्रदेशका मुख्यमन्त्री मात्रै होइनन्। उनी एमालेका सचिव पनि हुन्। तर, आफ्नै गृहजिल्लाको पार्टीले आयोजना गरेको कार्यक्रममा कार्कीले बोल्न पाएनन्। पछिल्लो समय पार्टी पुनर्गठन अभियानमा लागेका कार्की र एमाले अध्यक्ष ओलीबिच खटपट छ। ओली पूर्व जाँदा सधैँ स्वागत गर्न पुग्ने कार्की यसपटक भने शनिबार ओली झापा आउँदा कार्यक्रममा गएनन्। यद्यपि, उनी एमाले झापाको कार्यक्रममा आइतबार भने ओलीलाई स्वागत गर्न अग्रपंक्तिमा उभिएका थिए।
तर, कार्यक्रममा उनलाई बोल्न भने दिइएन। कार्यक्रममा सहभागी दुई केन्द्रीय सचिवले भने बोल्न पाए। पार्टी संगठन विभाग प्रमुख तथा सचिव भानुभक्त ढकाल र कोशी प्रदेश इन्चार्ज तथा पार्टी सचिव शेरधन राईलाई भने एमाले झापाले बोल्न दिएको थियो। दुई सचिव ओलीनिकट हुन्। उनीहरूले ओलीको बचाउ गर्दै आफ्ना धारणा राखेका थिए।
मुख्यमन्त्री कार्की र अध्यक्ष ओलीबिच पछिल्लो समय सम्बन्ध चिसिएको छ। हालै प्रदेशमा भएको गठबन्धन परिवर्तनका क्रममा ओली मुख्यमन्त्री कार्कीलाई हटाउन चाहन्थे। तर, हिक्मतको अडानका कारण ओली त्यसमा सफल हुन सकेनन्। ओलीले आफू बोल्ने क्रममा कार्कीलाई समेत अरूलाई अवसर दिँदा ‘बुरुक्क उफ्रिन खोजेको’ भन्दै आलोचना गरे। ओलीले पार्टीभित्र आफू इतर समूहलाई कटाक्ष गर्दा मञ्चमा रहेका मुख्यमन्त्री कार्कीमा छटपटाहट प्रस्ट देखिन्थ्यो।