जाजरकोटको भेरी नगरपालिका– २, रिसाङ क्षेत्रमा पहिरोको जोखिममा रहेका करिब ६० देखि ७० घरपरिवारका १५० देखि दुई सयजनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि स्थानीय नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानान्तरण गरिएका नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खड्काका अनुसार प्रहरीको समन्वयमा जाजरकोट स्वास्थ्य सेवा कार्यालयबाट स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरी स्थानान्तरण गरिएका नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको हो।
प्रमुख जिल्ला अधिकारी खडादन्द अधिकारीका अनुसार पहिरोको जोखिममा रहेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। विपतका समयमा नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण तथा स्वास्थ्य सेवामा सहजीकरण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए।
यसैबिच, पहिरोमा परी चारजनाको मृत्यु भएको छ। भेरी नगरपालिका– २, फारुलाका करिब ५४ वर्षीया उमा सिंह खत्री र ७७ वर्षीया रति खत्री तथा चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरूको थप उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ।
पहिरोमा परी नौजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जनाको नेपालगन्ज र सुर्खेतका अस्पतालमा उपचार भइरहेको छ।
अविरल वर्षा भइरहेकाले पहिरोको जोखिम अझै कायम रहेको प्रशासनले जनाएको छ। प्रशासनले आसपासका नागरिकलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ। साथै, विपतका समयमा आवश्यक सावधानी अपनाउन तथा जोखिमको अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न प्रशासनले अनुरोध गरेको छ।