अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका– २ का विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । ६ जना घाइते भएका छन्। एकजना अझै सम्पर्कविहीन छन्। पहिरोमा परी घाइते भएका तीनजनाको उपचारपछि डिस्चार्ज गरिएको छ।
शनिबार दिउँसो करिब ४ बजे अविरल वर्षाका कारण पहिरो खस्दा घर तथा टहरा भत्किनुका साथै विभिन्न परिवार विस्थापित भएका हुन्। पहिरोमा परी भेरी नगरपालिका– २ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा आइतबार बिहान ४:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
यसअघि सोही वडाको फारुलाका करिब ५४ वर्षीया उमा सिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा मृत फेला परेकी थिइन् । यसैगरी बेपत्ता भएका ७० वर्षीय भीमबहादुर कार्कीको पनि शव फेला परेको छ ।
प्रहरीका अनुसार भेरी नगरपालिका– २, रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेका वेला माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ।
यसैगरी, आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि उनलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
भेरी नगरपालिका– २, चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन्। उनलाई पनि जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
यस्तै, भेरी नगरपालिका– १, डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सोही स्थानकी १६ वर्षीया मनीषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका– २, चिसापानीकी करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएकी छिन्। उनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पहिरोमा परी घाइते भएका भेरी नगरपालिका– २ की करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३० गते राति १२ बजे डिस्चार्ज गरिएको छ।
पहिरोले भेरी नगरपालिका– ३ स्याला बस्ने पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँचजनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्। सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने हाल मानिसको बसोबास छैन ।
पहिरोको जोखिममा रहेका भेरी नगरपालिका– २, रिसाङ क्षेत्रका करिब ६०–७० घरपरिवारका १८० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए ।
यस्तै, झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीनजनासहित थप ५४ जनालाई सुरक्षित स्थानमा राखिएको छ।
पहिरोका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध रहेकाले सुरक्षाकर्मीले जोखिमबिच पैदलमार्फत घटनास्थल पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्।लगातार वर्षा भइरहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।