शनिबार १० बजेसम्मका प्रमुख १० खबरहरू

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

शनिबार पाँच स्थानबाट ग्यास बिक्री भएको काठमाडौंमा आइतबार सात ठाउँबाट वितरण हुने

भोलि आइतबार पनि काठमाडौंका सात स्थानबाट आयल निगम र जिल्ला प्रशाशन कार्यालय, काठमाडौंको समन्वयनमा ग्यास वितरण हुने भएको छ।

शनिबार दिनभर करिब ६ हजार सिलिन्डर वितरण गरेको र आपूर्ति सहज गर्न मद्दत मिलेको निष्कर्ष निकाल्दै भोलि सार्वजनिक बिदा भएकाले ग्यास वितरणलाई निरन्तरता दिने निर्णय भएको निगमले जनाएको छ।

अब अनलाइनबाटै स्वास्थ्य बिमामा आबद्धता र नवीकरण गर्न सकिने

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा अनलाइनमार्फत नयाँ आबद्धता, बिमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने व्यवस्था सुरु गरेको छ।

बोर्डका अनुसार शुक्रबारदेखि लागू गरिएको नयाँ प्रणालीमार्फत सेवाग्राहीले दर्ता सहयोगीको सहायता नलिई आफैँ अनलाइन फाराम भरेर स्वास्थ्य बिमासम्बन्धी सेवा लिन सक्नेछन्।

‘विद्युतीय माध्यमबाट स्वास्थ्य बिमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार सुरु गरिएको प्रणालीबाट बिमामा नयाँ आबद्धता तथा नवीकरणका साथै सेवाग्राहीको केवाइसी विवरणसमेत अद्यावधिक गर्न सकिने बोर्डले जनाएको छ।

काठमाडौंको पाँच ठाउँबाट शनिबार करिब ६ हजार ग्यास सिलिन्डर वितरण

शनिबार काठमाडौंको पाँच स्थानबाट पाँच हजार ९ सय ७२ थान ग्यास सिलिन्डर वितरण भएको छ। ग्यास आपूर्ति सहज गर्न आयल निगम र काठमाडौं जिल्ला प्रशाशन कार्यालयको समन्वयमा टेकु, चाहबिलस्थित यातायात कार्यालय, बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयको पुरानो कार्यालय र बसुन्धरा तथा कीर्तिपुरस्थित राधास्वामीपरिसरबाट शनिबार ग्यास वितरण भएको थियो ।

समयमा सम्पत्ति विवरण नबुझाउने १ हजार ९४ जनाले तिरे जरिवाना

तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने १ हजार ९४ जना राष्ट्रसेवकले जरिवाना तिरेर सम्पत्ति विवरण बुझाएका छन्।

केन्द्रको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा समयमा सम्पत्ति विवरण नबुझाउने उनीहरूलाई जनही ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको हो। जरिवाना बुझाएपछि उनीहरूले सम्पत्ति विवरण पेस गरेका छन्।

भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री शाहको शुभेच्छा : नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विश्वास

प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनताप्रति शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल ‘एक्स’मार्फत शुभकामना दिँदै नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध तथा जनस्तरको निकटतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

सर्वोच्चबाट न्याय पाएपछि कांग्रेस एक हुन्छ : देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।

महाराजगन्जस्थित निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पारे। विशेष महाधिवेशनविरुद्ध आफूहरूले मुद्दा दायर गरेको भन्दै उनले पुनरवलोकनअघि धेरै बोल्न नहुने बताए।

सत्ता चलाउँदा दम्भ होइन, सहकार्य आवश्यक छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन-जी विद्रोहको वर्ष दिन पुग्न लाग्दा पुराना राजनीतिक शक्तिहरू पुनः सक्रिय हुनु र नयाँ शक्तिहरू अन्योलमा देखिनु देशका लागि गम्भीर अवस्था भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत भट्टराईले मुलुकमा बाह्य र आन्तरिक दुवै चुनौती बढ्दै गएको उल्लेख गरेका छन्। उनका अनुसार बाह्य रूपमा भूराजनीतिक तनाव बढिरहेको छ भने आन्तरिक रूपमा लामो समयदेखि रहेको आर्थिक, राजनीतिक तथा सामाजिक–सांस्कृतिक असन्तुष्टि जुनसुकै वेला विस्फोट हुन सक्ने अवस्था छ।

पाँच दिनको कष्टपछि विद्यार्थीले ग्यास पाए

सल्यानको बाघचौरबाट तुलसीपुर आएर ज्ञान ज्योति स्कुलमा विज्ञान विषय पढ्दै गरेकी यमूना डीसीका लागि बितेका पाँच दिन निकै कष्टकर रहयो ।  कोठामा ग्यास सकिएपछि उनी ग्यासका लागि  निकै भौतारिनु पर्यो । ‘पाँच दिनदेखि होटलमा खाना खानु परिरहेको थियो, बिहान ३ बजेदेखि दिउसो ३ बजेसम्म लाइन लाग्नुपर्ने अवस्था थियो’,उनले भनिन् ‘तर, ग्यास पाउन सकिएको थिएन ।’ उनी जस्तै सल्यानकै अर्को विद्यार्थी आयुस डीसीको कथा पनि उस्तै छ। ग्यास नपाएर चार–पाँच दिनदेखि हैरानी ब्यहोरेको उनले बताए ।

एक हजार ५७७ कार्यालयमा सतर्कता केन्द्रको छड्के

सतर्कता केन्द्रले दैनिक रूपमा आचारसंहिताको पालना, फाइल ट्रयाकिङ, सवारीसाधन प्रयोगको अवस्था, बिचौलिया नियन्त्रण, सेवा प्रवाहको अवस्थालगायतका विषयमा अनुगमन, छड्के तथा निगरानी गर्दै आएको छ ।

वार्षिक प्रतिवेदनअनुसार गत आवमा एक हजार ५७७ कार्यालयको अनुगमन, छड्के तथा निगरारी गरी समय पालना नगर्ने नौ हजार ६९७ र तोकिएको पोसाक नलगाउने एक हजार ४०४ गरी कुल ११ हजार १०१ जनालाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

देउवापक्षीय भेलाकाे बन्दसत्रमा तीन हजार प्रतिनिधि : पाँच प्रस्तावमाथि शनिबार छलफल, आइतबार समापन

शेरबहादुर देउवा समूहले भेलाको उद्घाटनमा देशभरिबाट झन्डै पाँच हजार नेता–कार्यकर्ता सहभागी भएको दाबी गरेको छ । त्यस्तै, बन्दसत्रमै हलमा अटेसम्म तीन हजारदेखि तीन हजार पाँच सयसम्मलाई प्रतिनिधिकै रूपमा सहभागी गराउने तयारी छ ।

शनिबार बिहान ९ बजेबाट सुरु हुने बन्दसत्रमा पाँचवटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको नेता डा. प्रकाशशरण महतले बताए । ९ बजेपछि क्रमशः दिउँसो १२ बजेसम्म नेता विमलेन्द्र निधिले राजनीतिक, डा. महतले आर्थिक र एनपी साउदले मुलुकको समसामयिक अवस्थासम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सुझावित समाचार