सतर्कता केन्द्रले दैनिक रूपमा आचारसंहिताको पालना, फाइल ट्रयाकिङ, सवारीसाधन प्रयोगको अवस्था, बिचौलिया नियन्त्रण, सेवा प्रवाहको अवस्थालगायतका विषयमा अनुगमन, छड्के तथा निगरानी गर्दै आएको छ ।
वार्षिक प्रतिवेदनअनुसार गत आवमा एक हजार ५७७ कार्यालयको अनुगमन, छड्के तथा निगरारी गरी समय पालना नगर्ने नौ हजार ६९७ र तोकिएको पोसाक नलगाउने एक हजार ४०४ गरी कुल ११ हजार १०१ जनालाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष राष्ट्रिय गौरवसहित अन्य महत्त्वपूर्ण आयोजनाको प्राविधिक परीक्षण पनि केन्द्रले गरेको छ। १८४ आयोजनाको नियमित अनुगमन र ६ आयोजनाको प्राविधिक परीक्षण गरी कार्यान्वयनका क्रममा रहेका कमी–कमजोरी र जोखिम पहिचान गरेको छ ।
भ्रष्टाचार र अनियमिततासम्बन्धी प्राप्त सूचनाको छानबिन तथा उजुरी फर्स्योटलाई मुख्य प्राथमिकतामा राख्दै आएको केन्द्रले जनाएको छ । केन्द्रको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा केन्द्रमा दुई हजार ५६६ उजुरी कायम भएका थिए । तीमध्ये एक हजार ८५४ अर्थात् ७२ प्रतिशत उजुरी फर्स्योट भएका वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
भ्रष्टाचारजन्य क्रियाकलापको रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लास्तरमा भ्रष्टाचारविरुद्धका सर्चेतनामूलक तथा स्थानीय तहका पदाधिकारी एवं कर्मचारीका लागि सदाचार शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको केन्द्रको भनाइ छ । यस्ता कार्यक्रममार्फत सार्वजनिक पदाधिकारी तथा कर्मचारीमा नैतिकता, सदाचार, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको चेतना अभिवृद्धि गर्दै भ्रष्टाचार रोकथाम तथा सुशासन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा केन्द्रको छ ।