काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदमा प्राडा विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरेका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित तीनजनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गरेका हुन्।
उनले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) गरेका छन् ।
गत जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।