कोशी प्रदेश सरकारमा सहभागी कांग्रेसका पाँचजना मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका छन् । कांग्रेस सरकारबाट बाहिरिएसँगै अब कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा सातौँपटक सरकार फेरबदल हुने भएको छ । प्रदेशमा एमाले र नेकपाको नयाँ सत्तागठबन्धन बनेपछि सरकारमा सहभागी कांग्रेसका चारजना विभागीय र एकजना राज्यमन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेमा भौतिकमन्त्री प्रदीपराज सुनुवार र राज्यमन्त्री शोभा चेम्जोङ, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, कृषि तथा सहकारीमन्त्री इसराइल मन्सुरी र वन, पर्यटन तथा वतावरणमन्त्री भीम पराजुली छन् । राजीनामा बुझाएका कांग्रेसका मन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले सत्तायात्रामा सौहार्दपूर्ण रूपले सहभागी भएर सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् ।
पहिले एमालेको सत्तागठबन्धनमा रहेका कांग्रेसका सबै मन्त्रीहरूले राजीनामा दिएपछि अब नेपाली कम्युनिस्ट पार्टी र एमालेबिच नयाँ सत्तागठबन्धनको सरकार पुनर्गठन गर्न बाटो खुलेको छ । नयाँ गठबन्धनका लागि भएको सहमतिअनुसार अब एमालेकै नेतृत्वको सरकारमा सहभागी हुनेछ । नेकपाले कांग्रेसले लिएका चारवटा मन्त्रालय आफूले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ ।
कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री कार्की संविधानको धारा १६८ (५) बमोजिम २७ वैशाख ०८१ मा एमाले र माओवादीका ५२ सांसदको समर्थनमा तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । तर, केन्द्रीय सत्ता समीकरणका कारण कोशीमा एमालेले कांग्रेससँग सत्तागठबन्धन गरेपछि माओवादी सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका कार्कीले कांग्रेसको समर्थन पाएपछि प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।
कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा सातौँपटक सरकार फेरबदल हुने भएको छ । दोस्रो कार्यकालमा २४ पुस ०७९ तत्कालीन माओवादी केन्द्रको गठबन्धनमा एमालेका कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि २२ असार ०८० मा कांग्रेसका उद्धव थापा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बने । तर, सभामुखको हस्ताक्षर विवादमा सर्वोच्चमा रिट परेपछि पदमुक्त भएका थापा फेरि दोस्रोपटक १७ भदौ ०८० मा माओवादी, जसपाको गठबन्धनमा मुख्यमन्त्री बने । तर, सर्वोच्चले उनलाई बर्खास्त गरेपछि फेरि एमालेका कार्की २२ भदौ ०८० मा मुख्यमन्त्री बने । तर, प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्ने अवस्था भएपछि उनले राजीनामा दिए । त्यसपछि २७ असोज ०८० मा एमालेको सर्मथनमा कांग्रेसका बागी सांसद केदार कार्कीको नेतृत्वमा सरकार बन्यो । तर, एमालेको असन्तुष्टिकै कारण कार्की सात महिनामै पदमुक्त भए ।
त्यसपछि फेरि २७ वैसाख ०८१ मा माओवादीको समर्थनमा एमालेका कार्की तेस्रोपटक मुख्यमन्त्री बने । तर, केन्द्रीय सहमतिका कारण माओवादी सरकारबाट बाहिरियो र २८ भदौ ०८१ मा कांग्रेस सत्तामा भित्रियो । अहिले फेरि नेकपा र एमालेको ९ साउनमा भएको तीनबुँदे नयाँ केन्द्रीय सहमतिपछि कांग्रेस सत्ताबाट बाहिरिएको छ । अब एक दुई दिनभित्रै एमालेकै कार्की नेतृत्वको सरकारमा नेकपा सहभागी हुँदै छ ।
प्रदेश सभाको दोस्रो कार्यकालमा ६ पटक सरकार फेरबदल हुँदा ५८ जना सांसद मन्त्री नियुक्त भइसकेका छन् । पहिलो कार्यकालमा कोशी प्रदेशमा एमालेका शेरधन राई, भीम अचार्य र तत्कालीन एकीकृत समाजवादीका राजेन्द्रकुमार राई तीनजना मुख्यमन्त्री नियुक्त भएका थिए ।