सरकारी छाप दस्तखत किर्ते गरी नक्कली कागजातहरू तयार पारेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोली पुतलीसडकमा पुष्पराज राईले सञ्चालन गरेको प्यासन फाउन्डेसन कन्सल्टेन्सीबाट मंगलबार दिउँसो तीनजनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा झापाको गौरीगन्ज गाउँपालिका घर भई ललितपुर बस्ने ३४ वर्षीय सन्दीप कार्की, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ११ घर भई बुढानीलकण्ठ बस्ने २५ वर्षीया संगीता मगर र नुवाकोटको बेलकोटगढी नगरपालिका– ५ घर भई गोंगबु बस्ने २० वर्षीया अंकिता नेपाल रहेका छन्।
उक्त कन्सल्टेन्सीबाट विभिन्न नगरपालिका, गाउँपालिका, सहकारी संस्था तथा विद्यालयका कागजात, लेटरप्याड, छापसहित दुई थान ल्यापटपलगायतका सामानहरूसमेत बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ।