छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका– १ बांगिरहनजिकै जिप दुर्घटना हुँदा चालक र जिपमालिक बेपत्ता भएका छन्। दुर्घटनामा दुईजना घाइते भएका छन् । प्रारम्भिक जानकारीअनुसार लु.१ज ३०२२ नम्बरको बन्द बडी जिप बालुवा संग्रहीबाट सल्लीबजारतर्फ फर्किने क्रममा बुधबार दुर्घटनामा परेको हो ।
जिप सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको जनाइएको छ । दुर्घटनामा जिपचालक र जिपमालिक भेरी नदीमा बेपत्ता भएको बताइएको छ। उनीहरूको पहिचान तथा विस्तृत विवरण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए ।
दुर्घटनामा बनगाड कुपिन्डे नगरपालिका– १, आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन् । घाइते दुवैजना भेरी नदीमा पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए । घटनालगत्तै स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा प्रहरी घटनास्थलमा पुगेर बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यमा जुटेका छन्। जिप भेरी नदीमा खसेकाले नदीको बहाव तथा गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख तथा सशस्त्र प्रहरी बल सल्यान प्रमुखसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेकाे छ । खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सुर्खेतबाट सशस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाउने गरी समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य रमेश मल्लले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।