१५ वर्षीया किशोरीले बच्चा जन्माएपछि एक युवकविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ । रोल्पा त्रिवेणी गाउँपालिका– ७, सिवाङ घर भई हाल दाङको घोराही उपमहानगरपालिका– १५, शुभलक्ष्मी टोलमा बस्दै आएका २० वर्षीय सन्तोष बस्नेतविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको हो ।
किशोरीलाई विवाहको प्रलोभन देखाएर करणी गरेको भन्दै सोमबार जिल्ला अदालत दाङमा अभियोगपत्र दर्ता गरिएको हो । कक्षा १० मा अध्ययनरत पीडित किशोरी प्युठानकी हुन् । उनी घोराहीको भरतपुरमा कोठा भाडामा लिएर बस्दै आएकी छिन् । ४ भदौ ०८२ मा बस्नेतले ‘जरुरी काम छ’ भन्दै फकाएर किशोरीलाई आफ्नै कोठामा बोलाई जबर्जस्ती करणी गरेको र त्यसकै कारण उनी गर्भवती भएको अभियोगपत्रमा उल्लेख छ ।
किशोरी गर्भवती भएको विषय लामो समयसम्म गोप्य रहे पनि उनले ३१ वैशाख ०८३ मा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा छोरीलाई जन्म दिएपछि मात्रै रहस्य खुलेको हो । त्यसभन्दा अघि किशोरीको घरपरिवारलाई समेत केही थाहा नभएको पत्रमा उल्लेख छ ।
बच्चा जन्मिएपछि मात्र वारदात स्थापित हुन आएको र त्यसपछि पीडितकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । बस्नेतले जबर्जस्ती करणी गरेकाले गर्भ बसेको पीडित किशोरीकी आमाले जाहेरीमा खुलाएकी छिन् ।
बस्नेत र किशोरीबिच पछिसम्म पनि कुराकानी भइरहने गरेको र भेट भने नभएको जाहेरीमा उल्लेख छ । कसैलाई नभन्नू भनी कोठाबाट निस्किन नदिएकैले पेटमा बच्चा भएको कुरा कसैलाई थाहा नभएको पीडितकी आमाले जाहेरीमा खुलाएकी छिन् । प्रतिवादी बस्नेतले भने आफूले गर्भ बसिसकेपछि बिहे गर्ने प्रस्ताव गरेको बयान दिएका छन् ।