प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जनताका समस्या र मागमा केन्द्रित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकमा ग्यासको समस्या, बिजुलीमा भ्याट, मल अभाव र महँगीको विषयमा बैठक केन्द्रित भएको हो ।
कांग्रेसले सरकारको बहुलट्ठी निर्णयकै कारण ग्यासको चरम अभाव भएको निष्कर्ष निकाल्दै दूरदर्शी निर्ण{य गर्न ध्यानाकर्षण गराएको छ । जनताको भान्सा प्रभावित हुँदासमेत सरकारको उपस्थिति नदेखिएको कांग्रेसको दाबी छ । ‘ग्यासको आपूर्तिमा जनताले जुन कठिनाइ भोगिरहेका छन्, लामो लाइन मात्रै होइन, दैनिक जीवन प्रभावित भइरहेको छ । यसमा उद्योगको कारण मात्र होइन, सरकारको बहुलट्ठीपूर्ण निर्णयले जनताले दुःख पाइरहेका छन् । भान्सालाई सहज बनाउन सरकारको उपस्थिति नै देखिएन,’ अधिकांश केन्द्रीय सदस्यहरूको भनाइ छ ।
बिजुलीमा लगाइएको भ्याट फिर्ता लिएर जनतालाई राहत दिन पनि कांग्रेस नेताहरूले सरकारसँग माग गरेका छन् । ‘अघिल्लो सरकारले बिजुलीलाई बढीभन्दा बढी खपत गराउने नीति लिएर राहत प्याकेज ल्याएको थियो । इन्डक्सन चुलोमा राहत दिने, दैनिक उपभोग्य बिजुलीमा सहुलियत दिने, त्यसले खपत बढ्दै जाने र विशेष गरी ग्याससहित अन्य पेट्रोलियम पदार्थको खपत घट्दै जान्छ । तर, अहिलेको सरकारले सहुलियत दिनुको साटो उल्टो बिजुलीमा भ्याट लगाउने काम गर्यो । इन्डक्सनको विषयमा पनि उपयुक्त निर्णय नलिएका कारणले पनि अहिले समस्या आएको छ,’ सदस्यहरूको आरोप छ ।
खेतीपातीको समयमा मलको अभाव भएको भन्दै नेताहरूले आक्रोश पोखेका छन् । ‘मल अभावले किसानहरू आक्रान्त भएका छन् । यसले भोलि खाद्य संकट आउन सक्छ । सरकारले मल उपलब्ध नगराउने मात्र होइन, भएको मलमा पनि कालोबजारी छ । सरकारको उपस्थिति देखिँदैन । सीमावर्ती क्षेत्रमा किसान लुटिएका छन् । किसानको समस्या सरकार न देख्छ, न सुन्छ,’ केन्द्रीय सदस्यहरूले भनेका थिए ।
किसानको उत्पादनको संरक्षणका साथै बजारको व्यवस्थापनको ग्यारेन्टी पनि सरकारले गर्नुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएका छन् । मलका साथै सिँचाइको बारेमा पनि सरकारले दीर्घकालीन सोच राखेर काम गर्नुपर्नेमा उनीहरूको जोड छ ।
केन्द्रीय सदस्यहरूले उठाएको अर्को विषय हो– महँगी । ‘महँगीले गर्दा जनताको जीवन प्रणाली अस्तव्यस्त बनेको छ । जनताको आयस्तर कमजोर छ, दिनभर काम गरेर बेलुका खान सक्ने स्थिति छैन । बजार अकासिएको छ । सरकारी अनुगमन छैन, नियन्त्रण छैन,’ उनीहरूले भनेका छन् । बजार अनुगमनका साथै राहतको विषयमा सोच्न उनीहरूको सरकारको ध्यानाकर्षण गराएका छन् ।
जनताले दैनिक भोगिरहेका सदस्यलाई केन्द्रविन्दुमा राखेर बैठकमा छलफल भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘जनताको माग र समस्यालाई केन्द्रमा राखेर हामीले आवाज उठाएका छौँ र सरकारको ध्यानाकर्षण गराएका छौँ,’ उनले भने, ‘जनताको जीवनसँग जोडिएका विषय उठाउनु हाम्रो दायित्व र जिम्मेवारी पनि हो । हामी त्यसैमा फोकस भयौँ ।’
संस्थापनको बैठकमा सातमध्ये पाँच प्रदेश सभापति सहभागी
संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सातमध्ये पाँच प्रदेशका सभापति मात्र सहभागी भएका छन् । दुई प्रदेशका सभापति भने अनुपस्थित छन् । प्रदेश सभापतिलाई आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाइएको छ । कोशीका उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन बैठकमा सभागी भएका छन् । कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर भने बैठकमा सहभागी भएका छैनन् । शाही र बलायर इतरपक्षमा रहेकाले बैठकमा सहभागी नभएको एक नेताले बताए ।
राष्ट्रिय भेलाको तयारीमा इतरपक्ष
संस्थापनपक्ष केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रित हुँदा इतरपक्ष भने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुटेको छ । भेलामा सहभागी हुन भेला आयोजक मूल समितिको तर्फबाट संयोजक शशांक कोइरालाले सम्बद्ध सबैलाई पत्राचार गरिसकेका छन् । २९–३१ साउनमा काठमाडौंमा हुने राष्ट्रिय भेलाका लागि आवश्यक समितिसमेत गठन गरेर काम भइरहेको भेला प्रचार समितिका संयोजक मीन विश्वकर्माले बताए ।
मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौती थपिएको भन्दै इतरपक्षले कांग्रेसभित्रको आन्तरिक विवादलाई मध्यनजर गर्दै सवल, सक्षम र सुदृढ कांग्रेसले मात्रै चुनौती सामना गर्न सक्ने दाबी गरेको छ । ‘पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्ने’ भन्दै भेलामा उपस्थित हुन इतरपक्षले सातै प्रदेशका सभापति, ७७ जिल्ला सभापति, १६५ निर्वाचन क्षेत्रका सभापतिलाई पत्र पठाइएको छ ।
आफू सहभागी हुन र आफ्नो क्षेत्रमा रहेका पार्टी निकायका नेतृत्व र यसअघि नेतृत्व गरेका सबैलाई सहभागी गराउन पत्रमार्फत आग्रह गरिएको विश्वकर्माले बताए । भेलामा क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेश सभा क्षेत्रीय सभापति, महानगर, नगर, गाउँपालिका सभापतिलाई उपस्थित गराउन भनिएको उनले बताए । भेलामा देशभरका नेता तथा कार्यकर्ताको राय लिने र भावी रणनीति तय गर्ने उनले बताए ।