सहसचिवको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

सहसचिव भलकराम अधिकारीविरुद्धको घुस तथा सम्पत्ति शुद्धीकरण मुद्दाका प्रमाण खडा गर्न नक्कली कागजात बनाएको आरोप वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको  छ। नेपालगन्ज उपमहानगरपालिका २० का वडाध्यक्ष कौशलकुमार धोबी, वडासचिव वीरबहादुर थापा मगरविरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
वडा कार्यालयको लिखत प्रमाणित दर्ता किताब सच्याई २०७९–८० मा रवीन्द लामिछाने र विकास चापागाईंबिच ७० लाखको लेनदेन कागज तयार गरिएको थियो। 

गत २९ असारमा विवरणसमेत सच्याएर गलत लिखत तयार गरेको आयोगले जनाएको छ । वडाध्यक्ष र वडासचिवसहित  नक्कली कागज तयार गर्ने लामिछाने र चापागाईंविरुद्ध पनि मुद्दा दायर भएको छ। 

 राजस्व अनुसन्धान विभागका महानिर्देशक हुँदा सहसचिव अधिकारीले रिसोर्टका कर्मचारीको नाममा ७० लाख घुस लिएको दाबीसहित आयोगले गत १ चैतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो। विभागको महानिर्देशक रहेका वेला उनले राजस्व छलीसम्बन्धी उजुरीको अनुसन्धान मिलाइदिने भन्दै घुस लिएको दाबी आयोगको थियो । 

उनले एचके इन्टरप्राइजेजका मालिक श्रीकृष्ण श्रेष्ठसँग घुस लिएका हुन्। सो रकम सिधै लिएनन्, पोखराको कुटी रिसोर्टका कर्मचारीको नाममा २० लाखको चेक काट्न लगाए। सो रिसोर्टका मालिक देवेन्द्र केसी  अधिकारीका निकटका व्यक्ति हुन्। सोही कारण त्यसरी उनले रिसोर्टका कर्मचारीको नाममा चेक लिएका थियो ।  

बाँकी ५० लाख रुपैयाँमा भक्तपुरको दिव्यश्वरी आयोजनामा पाँचआना जग्गा खरिद गरे। सो जग्गा उनले नेपालगन्जका रवीन्द्र लामिछानेको नाममा खरिद गरेको आयोगले जनाएको छ। प्रमाण लुकाउन उनले अन्य व्यक्तिको नाममा कारोबार गरेका हुन्।  

 यसरी घुसको रकम शुद्धीकरणको प्रयास गरेकाले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुर पनि चलेको थियो। उनीसहित देवेन्द्र केसी र रवीन्द्र लामिछानेविरुद्ध पनि आयोगले दायर गरेको मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ। सो मुद्दामा नक्कली प्रमाण खडा गर्न वडा कार्यालयबाट किर्ते लिखत तयार गरिएको आयोगको दाबी छ। 

सुझावित समाचार