प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आएपछि बिहीबार पहिलोपटक खेलकुदको नियमन निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक बस्ने भएको छ । आठ महिनापछि राखेपको बैठक बस्न लागेको हो । राखेपका सदस्यसचिव रामचरित्र मेहताले सहभागी हुन सम्बन्धित सदस्यलाई पत्र पठाएका छन् ।
प्रधानमन्त्री राखेपको संरक्षक रहन्छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका मन्त्री (सस्मित पोखरेल) राखेपका अध्यक्ष रहने व्यवस्था छ । मन्त्री पोखरेलको अध्यक्षतामा राखेपको १२५औँ बैठक सिंहदरबारस्थित मन्त्रालयमा हुने जानकारी गराइएको छ ।
राखेप बोर्ड बैठक आठ महिनापछि बस्न लागेको हो । गत ९ पुसपछि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन । त्यतिवेलाको बैठक वर्तमान सांसदसमेत रहेका बब्लु गुप्ताको अध्यक्षतामा भएको थियो । खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बस्ने बैठकका लागि नौवटा एजेन्डा तय गरिएको छ । त्यसमध्ये पनि जापानमा हुने २०औँ एसियाली एसियाली खेलकुद, कर्णाली प्रदेशमा तय भएको दसौँ राष्ट्रिय खेलुकद, कर्मचारी भर्ती र अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन र विवादमाथि केन्द्रित रहने अनुमान गरिएको छ ।
पहिलो एजेन्डामै ३ देखि १८ असोजसम्म जापानको नागाया र आइचीमा हुने २०औँ एसियाली खेलकुद पनि राखिएको छ । राखेपले यसअघि नै २२ खेलका १६८ जना प्रशिक्षक र खेलाडी सहभागी हुने टुंगो गरिसकेको छ । यद्यपि, यो बैठकले नेपालका तर्फबाट सहभागिता जनाउने खेल, खेलाडी, प्रशिक्षक र अफिसियलहरूको संख्या तथा नाम अनुमोदन गर्ने, एसियाली खेलकुदको सञ्चालन तथा व्यवस्थापन निर्देशिका पास गर्ने, तयारी तथा सहभागिताको विषयमा बजेट र मान्यता तय गर्ने विषयमा छलफल जनाइएको छ ।
दसौँ खेलकुदमा पनि केन्द्रित
कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रमा बनाएर हुने दसौँ बृहत् राष्ट्यि खेलकुद पनि एजेन्डामा समावेश गरहेको छ । ०८१ मै हुनुपर्ने राष्ट्रिय खेलकुद दुई वर्ष बितिसक्दा पनि हुन सकेको छैन । ०७९ मा पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नवौँ बृहत् राष्ट्रिय खेलकुद आयोजना भएको थियो । त्यसपछि १०औँ संस्करण ०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा गरिएको थियो ।
तर, तत्कालीन दुई खेलकुदमन्त्री तेजुलाल चौधरी र त्यसपछि आएका जेन–जी मन्त्री बब्लु गुप्ताले बारम्बार प्रतियोगिताको मिति घोषणा गरे पनि दसौँ हुन सकेको थिएन । अधिकांश पूर्वाधार तयार भएको अवस्थामा मन्त्री चौधरीको र सदस्यसचिव टंकलाल घिसिङबिचको टकरावका कारण तीनपटकसम्म नयाँ मिति घोषणा भए पनि प्रतियोगिता हुन सकेको थिएन ।
गुप्ता आएर एकपटक नयाँ मिति तोकेका थिए । बिहीबारको बैठकमा दसौँ बृहत् राष्ट्रिय खेलकुदमा समावेश गरिने खेल, आयोजनाको मिति, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र प्रतियोगिताको बजेट तथा मान्यता सम्बन्धमा छलफल हुनेछ ।
एन्फा विवादबारे छलफल हुने
बालेन सरकार आएपछि खेलकुदमा पनि धेरै परिवर्तन हुने आशा गरिएको थियो । तर, खेलकुदमा माखो नमारेको आरोप मन्त्री पोखरेललाई लागेको छ । झनै मन्त्रालय गाभिँदा खेलकुदलाई ध्यान नै नदिएको आरोप छ । मन्त्रीभन्दा सल्लाहकारहरू (सिद्धि व्यञ्जनकार र राजु सिंह) हाबी भएको आरोप छ ।
उनीहरूकै कारण एन्फा फिफाको निलम्बनमा परेको आरोप छ । फिफाले निलम्बनको पत्रमै तेस्रो पक्ष (राखेप)को हस्तक्षेप जिकिर गरेको छ । त्यसैले पनि राखेपको यो बैठक एन्फामाथि केन्द्रित हुनेछ । यो बैठकबाट निलम्बन पनि परेको तथा गत ५ असारमै पंकजविक्रम नेम्वाङको कार्यकाल सम्पन्न भएकाले तदर्थ समिति गठन गर्नेसम्म चर्चा रहेको छ ।
यी हुन् १२५औँ बैठकको प्रस्तावित एजेन्डा
२०औँ एसियाली खेलकुद
– समावेश हुने खेल र सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियलहरूको अनुमोदन
– २०औँ एसियाली खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८३
– २०औँ एसियाली खेलकुद तयारी तथा सहभागितासम्बन्धी बजेट तथा नम्र्स
दसौँ राष्ट्रिय खेलकुद
– दसौँ राष्ट्रिय खेलकुदमा समावेश हुने खेल
– आयोजना मिति
– दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनसम्बन्धी निर्देशिका, २०८३
– दसौँ राष्ट्रिय खेलकुद आयोजनासम्बन्धी बजेट तथा नम्र्स
- राष्ट्रिय खेलकुद परिषद्को चालू आव ०८३/८४ को विनियोजित बजेट सम्बन्धमा
- राष्ट्रिय खेलकुद परिषद्को आन्तरिकतर्फको अनुमानित आय–व्यय सम्बन्धमा
- राष्ट्रिय खेलकुद परिषद्लाई अत्यावश्यक प्राविधिक कर्मचारी करार सेवामा लिने सम्बन्धमा
– पूर्वाधार निर्माणतर्फ सिभिल इन्जिनियर उपसचिवसरह एकजना र सिभिल, आर्किटेकट, इलेक्ट्रिकल, स्ट्रकचरल चारजना
– आइटी सूचना प्रविधितर्फ आइटीविज्ञ दुईजना अधिकृत तृतीय
- राष्ट्रिय खेलकुद परिषद्लाई आवश्यक कानुनी सल्लाहकारको सेवा करारमा लिने सम्बन्धमा
- खेलकुद ग्रासरुट कार्यक्रम सञ्चालन सम्बन्धमा
- खेल संघहरूलाई खेल कार्यक्रमका लागि अनुदान सहयोग सम्बन्धमा
- विविध
– माननीय शिक्षा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षज्यूबाट ०८३/०२/०७ मा परिषद्का सदस्यसचिवज्यूलाई प्रत्यायोजित अधिकारको अनुमोदन सम्बन्धमा
– खेलाडी कल्याणकारी कोष प्रयोगसम्बन्धी
मापदण्ड, २०८३
– कार्यकारी समितिबाट खरिद शाखा स्थापना गरिएकोलाई अनुमोदन सम्बन्धमा
– अखिल नेपाल फुटबल संघको सम्बन्धमा
– खेल संघहरूको नवीकरण सम्बन्धमा