पार्टी एकताको निर्णायक भूमिका निर्वाह गर्न गगनलाई खड्काको आग्रह

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकताको निर्णायक भूमिका निर्वाह गर्न सभापति गगन थापासँग आग्रह गरेका छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आधिकारिता विवादमा सर्वोच्च अदालतले दिएको निस्सा पार्टीको सम्पूर्ण एकताको अन्तिम अवसर रहेको भन्दै उनले त्यसमा निर्णायक भूमिका सभापतिकै रहेको बताएका हुन् । 

‘पार्टीको आधिकारिकताको विवादका विषयमा सम्मानित सर्वोच्च अदालतले हामीलाई निस्सा दिएपछिको तीन दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका–टिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ,’ उनले लेखेका छन् । अहिले देशमा देशको राष्ट्रियता इतिहासकै अत्यन्त प्रतिकूल र संकटापन्न अवस्थामा पुगेको उनले बताएका छन् ।

‘लोकतान्त्रिक संविधान धरापमा पार्ने षड्यन्त्र भइरहेको अवस्था अनि कांग्रेस पार्टी इतिहासमै सबैभन्दा बढी कमजोर र प्रतिकूल अवस्थामा रहेका वेला आजको प्रथम अपरिहार्य आवश्यकता भनेको कांग्रेसको सम्पूर्ण एकता हो,’ उनले लेखेका छन्, ‘यसका लागि हामीबिचमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सिर्जना गरी संवाद–सहमति अनि यसबाट सुदृढ एकता पूर्वसर्त हो ।’

खड्काले पार्टीका जिम्मेवार व्यक्तिले व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमन्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनासाथ अघि बढ्दै पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निर्णायक अग्रसरता लिन आग्रह गरेका छन् । ‘सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनका लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौँ,’ खड्काले भनेका छन्, ‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष–विशेष आग्रह र अनुरोध छ, तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ ।’ पार्टी एकताका लागि वातावरण निर्माण गर्न पार्टी, भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेतासँग उनले अपिल गरेका छन् ।

सुझावित समाचार