आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशी जेल बस्नुनपर्ने

सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशी जेल बस्नुनपर्ने भएको  छ । उनलाई नौ महिना कैद सजाय भएकामा गत शुक्रबार विशेष अदालतले कैद छुट दिने फैसला गरेको हो। 

जोशी ७५ वर्षभन्दा माथिको जेष्ठ नागरिक भएको भन्दै जेष्ठ नागरिक ऐनअनुसार सो सुविधा दिइएको हो । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले बहुमतको रायका आधारमा जोशीलाई  कैद छुटको सुविधा दिएको हो । न्यायाधीश रावलले भने कारागार गएर फैसला कार्यान्वयन गरेपछि मात्र यस्तो सुविधा दिनुपर्ने फरक राय राखेका छन्। 
बल रास्वपाको कोर्टमा छ, हिजोको दोषी को भनेर खोज्ने वेला होइन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू हिजो कसले कति वर्ष शासन गर्यो भनेर दाेषी खोज्ने पक्षमा नरहेकाे बताएका छन्। बल रास्वपाको कोर्टमा आइसकेको उल्लेख गर्दै सभापति लामिछानेले अब को कति वर्ष मन्त्री भयो भनेर खोज्दै हिँड्नुकाे साटाे समस्याको समाधान खोज्नुपर्ने प्रस्ट्याए।

‘हिजो के भयो, कसो भयो त्यो हिजोको कुरा हो। हिजोको परिस्थिति अलग थियो। हिजोको चुनौती अलग थियो। हिजो देशमा राजनीतिक परिवर्तनको आवश्यकता थियो। संविधान निर्माणको चरणमा थियो। अर्कै किसिमको राजनीतिक चुनौती थियो। त्यतिखेरका राजनीतिज्ञहरूले जति सक्नुभयो त्यति गर्नुभयो,’ शनिबार युवा उद्यमीहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने।

सरकारले आफ्नो प्रतिबद्धता र पार्टीको लक्ष्यअनुसार अपेक्षित काम गर्न नसकेको स्वीकार गर्दै उनले भने, ‘चार महिनामै सरकारको मूल्यांकन गर्ने वेला भइसकेको छैन कि भन्ने लाग्छ। तर, अलिकति छनक फेर्न सक्नुपर्थ्याे। तपाईंहरूको सल्लाह र सुझाव मनन गरेका छौँ।’

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ ।

गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानदेखि ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी र अनुगमन सुरु गरिएको हो ।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री भइरहेको गुनासो उद्योग मन्त्रालयमा लगातार आउन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको हो ।

रास्वपालाई गगनको प्रश्न– कमजोरीको जिम्मा अबचाहिँ प्रधानमन्त्रीले मात्रै लिनुपर्ने ?

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गरेका कमजोरीको जिम्मा प्रधानमन्त्रीको मात्र नहुने बताएका छन्।

३५ वर्षको नाममा अरू पार्टीका सबैलाई दोष दिएर रास्वपाले वर्तमान सरकारको कमजोरीमा प्रधानमन्त्रीलाई मात्र देखाएको भन्दै थापाले यस्तो बताएका हुन्।

‘केही कुरा बोल्दै गर्दा हामीले ३५ वर्षको जिम्मा लिनुपर्ने। तर, अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा हुँदा प्रधानमन्त्रीले मात्र जिम्मा लिनुपर्ने?’ पार्टीको केन्द्रीय समिति बैठकमा थापाले प्रश्न गरे, ‘त्यहाँचाहिँ प्रधानमन्त्री भएकाले मात्र जिम्मा लिनुपर्ने, हामीचाहिँ सबैले लिनुपर्ने?’

गगनलाई पूर्णबहादुरको आग्रह– पार्टी एकताका लागि अग्रसर हुनुस्, हामी साथ दिन्छौँ

नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्पूर्ण एकता कायम गर्न सभापति गगन थापालाई अग्रसर हुन आग्रह गरेका छन्।

खड्काले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि पार्टीभित्र देखिएको विवाद र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति चिन्ता व्यक्त गर्दै अहिले कांग्रेसको पहिलो आवश्यकता एकता भएको बताए।

उनले सहिष्णुता, संवाद र सहमतिबाट पार्टीलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै व्यक्तिगत महत्वाकांक्षा, अहंकार र प्रतिशोध त्याग्न नेताहरूलाई आग्रह गरे।

बागमतीमा राप्रपाको निर्णयले सत्तासमीकरण अन्योलमा, एमाले–नेकपाको छलफल रोकियो

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रयास राप्रपाको निर्णयपछि अन्योलमा परेको छ । बहुमतका लागि तेस्रो शक्तिको साथ आवश्यक भएपछि एमाले र नेकपाबिच सरकार गठनका लागि भइरहेको छलफल तत्कालका लागि रोकिएको हो ।

राप्रपाले तत्काल कुनै पक्षमा नजाने र अन्तिम निर्णय गर्ने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिने निर्णय गरेपछि एमाले नेतृत्वमा सरकार बनाउने प्रयास प्रभावित भएको छ । एमालेले आफ्ना केही सांसदलाई व्यक्तिगत रूपमा सहमत गराएर फ्लोर क्रस गराई किरण थापालाई मुख्यमन्त्री बनाउने प्रयास गरेको भन्दै राप्रपा असन्तुष्ट बनेको छ ।

नेतृत्व फेरे प्रधानमन्त्री बन्छु भन्नेले पनि चुनाव हारे : नेता महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि नै नेतृत्व फेरे कांग्रेस नेतृत्वमा सरकार गठन हुने भन्ने दाबी गलत पुष्टि भएको बताएका छन्। आइतबार पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा नेता महतले चुनावअघि नेतृत्व फेरे प्रधानमन्त्री बन्छु भन्नेहरू स्वयं पराजित भएको टिप्पणी गरे।

सभापति थापाको नाम नलिई उनले भने, ‘के दाबी गरिएको थियो भने आमनिर्वाचनअघि नै हाम्रो नेतृत्व भयो भने मात्रै आमनिर्वाचनमा परिणाम आउँछ पार्टीको पक्षमा, सरकार हामीले बनाउन सक्छौँ। देशको शासनसत्ता नै चलाउने, प्रधानमन्त्री हुने भनिएको थियो, उहाँ स्वयं पनि हार्ने परिस्थिति आयो।’ 

आफूहरूले १५औँ महाधिवेशनमा निर्वाचन निष्पक्ष होस् भन्ने सुनिश्चितता खोजेको बताउँदै उनले त्यसको निष्पक्षता सक्रिय सदस्यताको टुंगो, विधान, अनुशासन र प्रतिनिधिको विषयमा निर्भर रहने बताए।

रास्वपाले भदौदेखि मन्त्री र नागरिकबिच प्रत्यक्ष संवाद कार्यक्रम सुरु गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा रहेका आफ्ना मन्त्रीलाई नागरिकसँग प्रत्यक्ष जोड्ने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी भदौदेखि सुरु हुने उक्त कार्यक्रममार्फत मन्त्रीहरूले नागरिकका समस्या, गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष सुन्ने व्यवस्था गरिने रास्वपाले जनाएको छ ।

रास्वपाका सहमहामन्त्री असिम शाहले जारी गरेको विज्ञप्तिअनुसार सरकारमा रहेका पार्टीका प्रत्येक मन्त्रीले महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकसँग संवाद गर्नुपर्नेछ ।

पारा एसियाली खेलकुदको तयारीमा खेलाडीहरू [फाेटाेफिचर]

जापानमा हुने पारा एसियाली खेलकुदका लागि फरक क्षमताका नेपाली खेलाडीहरू अभ्यासमा जुटेका छन्। आवतजावत र भौतिक पूर्वाधारको असहजताका बाबजुद टोली विगत केही महिनादेखि लगातार प्रशिक्षणमा व्यस्त छ।

सन् २०१० देखि नियमित सहभागिता जनाउँदै आएको नेपालबाट यसपटक विभिन्न खेलका ३५ भन्दा बढी खेलाडीहरूले प्रतिस्पर्धा गर्दै छन्। सीमित स्रोत र साधनबिच पनि उच्च मनोबलका साथ अभ्यास गरिरहेको नेपाली टोली यसपटक देशका लागि नयाँ इतिहास रच्दै पदक भित्र्याउने दाउमा छ।

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन तोलामा चार हजार आठ सय रुपैयाँले बढेको छ। मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला तीन लाख एक हजार साच सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार नाै सय रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर पाँच हजार ६४५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको अन्तर्राष्ट्रिय बजार मूल्य, अमेरिकी डलरको विनिमय दर र स्थानीय माग–आपूर्तिका आधारमा नेपालमा दैनिक मूल्य निर्धारण हुँदै आएको छ।

सुझावित समाचार