राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू नेतृत्वको सरकारले थालेको यात्रालाई सफल गन्तव्यमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले सरकार सञ्चालनका क्रममा आउने चुनौतीलाई जहाजमा आउने टर्बुलेन्ससँग तुलना गरे । उनले केही समयको असहज अवस्थालाई लिएर सरकार असफल हुने आशंका नगर्न आग्रह गरे ।
‘कहिलेकाहीँ मौसमका कारण जहाजमा टर्बुलेन्स आउन सक्छ, तर त्यसलाई दुर्घटना भएको भनेर बुझ्नु हुँदैन,’ उनले भने, ‘हामीले थालेको यो उडानलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउँछौँ ।’
लामिछानेले सरकार आफ्नो प्रतिबद्धता र वाचाअनुसार काम गरिरहेको दाबी गर्दै असल नियतका साथ अघि बढिरहेको बताए । अप्ठ्यारो परिस्थितिलाई सामना गर्ने क्षमता रास्वपासँग रहेको उनको भनाइ थियो ।
‘अप्ठ्यारो परे त्यसलाई सम्हाल्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरू यो पार्टीमा छन्,’ उनले भने। उनले यात्राका क्रममा देखिने सामान्य उतारचढावलाई लिएर निराश नहुन आग्रह गर्दै सरकार सही दिशामा अघि बढिरहेको दाबी गरे ।