राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई ३५ वर्षको भाष्य बन्द गरेर आफैँ उदाहरणीय काम गर्न चुनौती दिएकी छिन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा ओलीले ३५ वर्षमा पुराना दलले नगरेको काम गरेर उदाहरण प्रस्तुत गर्न चुनौती दिइन्। ‘३५ वर्ष के गर्नुभयो ? ३५ वर्ष के गर्नुभयो ? भन्ने कुराहरू उठिराख्छन् । ३५ वर्ष उहाँहरूले के गर्नुभयो भनेर प्रश्न नसोध्नुस् अब । ३५ वर्ष उहाँहरूले नगरेको काम अब तपाईंहरू गर्नुस् । लेट्स लिड बाई इक्जाम्पल,’ उनले भनिन्।
रास्वपाले भन्ने गरेको बितेको ३५ वर्षमा राजनीतिमै नभएका युवाहरू अहिले राजनीतिमा आएकाले सबैले त्यसको भागीदार हुनु नपर्ने ओलीले स्पष्ट पारिन्।
उनले भनिन्, ‘त्यो ३५ वर्षको भागेदार हामी सबैले हुनुपर्छ भन्ने छैन। त्यो ३५ वर्ष राजनीतिमै नभएका व्यक्तिहरू पनि यहाँ हुनुहुन्छ। त्यसले गर्दा यो ३५ वर्षको भाष्य अब समाप्त गरेर उहाँहरूले नगरेका काम गर्नुस्।’
बितेको ३५ वर्षको आक्रोशले आज रास्वपालाई शक्ति दिएको उल्लेख गर्दै उनले त्यो ३५ वर्षको अपेक्षासमेत रास्वपाकै काँधमा आएको स्मरण गराइन्।