विकास अघि बढ्दा विस्थापितको अन्योल कायमै

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

नदीकिनार खाली गरिएका क्षेत्रमा पार्क र हरियाली विकासको काम अघि बढे पनि विस्थापित परिवारको स्थायी पुनर्स्थापनाको विषय अझै टुंगो लाग्न सकेको छैन। होल्डिङ सेन्टरमा रहेका परिवारहरू बसोबासको सुनिश्चितता नहुँदा अन्योलमा छन् भने पुनर्स्थापनाको प्रक्रिया पनि अपेक्षाकृत ढिलो भइरहेको छ।

समितिका अनुसार हाल एक सय परिवार होल्डिङ सेन्टरमा बसिरहेका छन्। तीमध्ये ६५ परिवार भक्तपुरको बोडे र खरिपाटी तथा ३५ परिवार इचंगुनारायणमा रहेका छन्।

यसअघि नदीकिनारबाट हटाइएका दुई हजार ६०८ परिवार सुकुमवासीको सूचीमा समावेश भएका थिए। तर, सरकारले अहिले तीनपुस्तेसम्मको विवरण माग गरिरहेकाले वास्तविक लाभग्राही पहिचानको प्रक्रिया लम्बिएको छ। यसले स्थायी पुनर्स्थापनामा थप ढिलाइ हुने चिन्ता विस्थापितहरूले व्यक्त गरेका छन्।

समितिले हालसम्म ४७ परिवारलाई सम्बन्धित स्थानीय तहमा पठाइसकेको जनाएको छ। उनीहरूको स्थायी बसोबासको व्यवस्था स्थानीय तहमार्फत अघि बढाइने बताइएको छ।

स्थायी बसोबासको टुंगो नलागेको भन्दै विस्थापित सुकुमवासीहरू सोमबार माइतीघर मण्डलामा धर्नामा उत्रिएका थिए। उनीहरूले सरकारले तत्काल जग्गा र सुरक्षित आवासको व्यवस्था नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।

धर्नामा सहभागी राकेश तामाङले नदीकिनारबाट हटाइएपछि आफूहरूको समस्या झन् बढेको बताए। उनका अनुसार होल्डिङ सेन्टरमा बस्दा पनि कठिनाइ भएको र अहिले डेरामा बस्नुपर्दा भाडा तिर्ने आम्दानीसमेत नभएको अवस्था छ। उनले सुरक्षाका लागि हटाइएको भए सरकारले तत्काल स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने माग गरे।

सुझावित समाचार