ब्रोड पिक हिमपहिरोमा पुरिएकामध्ये एक नेपालीको शव भेटिएन

पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो, निर्मल पुर्जाको लन्डनमा अन्त्येष्टि गरिने

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण
ब्रोड पिक हिमपहिरोमा पुरिएकामध्ये एक नेपालीको शव भेटिएन

आरोही पुरबहादुर गुरुङको शव बिहीबार काठमाडौंँ ल्याएपछि भाव विह्वल आफन्त । तस्बिर :  संजित परियार/नयाँ पत्रिका

गत १४ साउनमा पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ब्रोड पिक हिमाल (८,०४७ मिटर) मा आएको भीषण हिमपहिरोमा परी मृत्यु भएका नेपालीसहित १० पर्वतारोहीमध्ये एकजना नेपालीसमेत दुईजनाको शव स्वदेश पुर्‍याइएको छ । उद्धार टोलीले बाँकी शव हिमाल आरोहण गर्ने क्षेत्रबाट हेलिकोप्टरमार्फत पाकिस्तानको स्कार्दु भन्ने ठाउँमा पुर्‍याएका छन् । त्यहाँबाट शव कानुनी प्रक्रिया पुर्‍याएर इस्लामाबाद ल्याउने र सम्बन्धित देशमा पठाइनेछ ।

‘एकजना नेपालीसहित दुईजनाको शव सम्बन्धित देशमा पठाइएको र भेटिएका बाँकी सबै शव स्कर्दुस्थित सैन्य अस्पतालमा राखिएको जानकारी छ,’ पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले भनिन् । विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)को शव स्कर्दुमा छ । उनी बेलायती राहदानीवाहक थिए । पुर्जाले नेपाली एनआरएन नागरिकता पनि लिएका थिए । उनको परिवार बेलायतमा रहेकाले उनको शव बेलायतमा लैजाने तयारी छ । उनको शव नेपाल ल्याउने वा नल्याउने विषयमा आरोहण कम्पनी वा निम्स दाइका परिवारका सदस्यले नेपाली दूतावाससँग छलफल नगरेको राजदूत धितालले बताइन् ।

हिमपहिरोमा परेर मृत्यु भएका नेपाली आरोही पुरबहादुर गुरुङको शव बिहीबार पाकिस्तानबाट कतार हुँदै स्वदेश ल्याइएको छ । हिमपहिरोमा निम्स दाइसहित ६ जना नेपालीको मृत्यु भएको थियो । अब चारजना नेपालीको शव बाँकी छ । मृत्यु भएका किली पेम्बा शेर्पा, निमा शेर्पा, ग्यालु शेर्पाको शव ब्रोड पिक हिमालको आधार शिशिरबाट स्कार्दु ल्याइएको छ । तर, नवाङ थेन्दु शेर्पाको शव अझै भेटिएको छैन ।

सम्बन्धित ट्रेकिङ कम्पनीको खर्चमा एयर कार्गोमार्फत शव सम्बन्धित देशमा पुग्नेछ । तीनजना नेपालीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छैन । सम्बन्धित आरोही कम्पनीले विस्तृत विवरण नेपाली दूतावासलाई पेस गरेपछि त्यहाँबाट बनेको कागजातका आधारमा पाकिस्तान सरकारले कागजात बनाउने र त्यसपछि मात्रै शव स्कर्दुबाट इस्लामाबाद लगिनेछ । सबै काजजात पूरा गरेर तीनजनाको शव अर्को साता नेपाल आउन सक्ने सम्भावना छ ।

ब्रोड पिक हिमालको अत्यन्तै चुनौतीपूर्ण प्राविधिक र हाई–अल्टिच्युड रिकभरी अपरेसनपछि अल्पाइन क्लब अफ पाकिस्तानले बिहीबार निर्मल पुर्जा (निम्स दाइ), निमा शेर्पा, ग्यालु शेर्पा र किल्ली पेम्बा शेर्पा र चिनियाँ नागरिक वाङ जोङको शव हेलिकोप्टरमार्फत स्कार्दुस्थित सैन्य अस्पताल पुर्‍याएको जनाएको छ । ‘त्यहाँबाट आवश्यक कानुनी प्रक्रिया र कागजी काम पूरा भएपछि ती शवलाई इस्लामाबाद लगिनेछ र सम्बन्धित मुलुकमा पठाइनेछ,’ अल्पाइन क्लबले विज्ञप्तिमार्फत भनेको छ ।

अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट शव संकलन कार्यमा मिङ्मा डेभिड शेर्पा, दीपेन गुरुङ, सिरवाज खान, पेम्बा छिरिङलगायत खटिएका थिए । मिङ्मा स्वदेश फर्किसकेका छन् ।

निर्मल पुर्जाको नेतृत्वमा ब्रोड पिक हिमाल आरोहण गर्न गएको १० सदस्यीय टोलीमा नेपालीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा थिए । हिमपहिरोमा नधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल साखी (पाकिस्तान), वाङ जोङ (चीन) र म्यालोरी गाइस (अमेरिका) को मृत्यु भएको थियो । अघिल्लो बिहीबार मध्याह्नतिर करिब ६,६०० मिटरको उचाइमा रहेको क्याम्प २ र ३ को बिचमा पर्ने हिमालको पश्चिमी क्षेत्रमा परेको भीषण हिमपहिरोमा निम्स दाइलगायत पर्वतारोही परेका थिए ।

निम्स दाइको शव बेलायत लगिने
निम्स दाइको शव बेलायतमा लगेर उतै दाहसंस्कार गर्ने तयारी छ । उनका परिवार बेलायतमा बस्दै आएको छ । म्याग्दीमा जन्मेका निम्स दाइ चितवनमा हुर्केका थिए । उनले ब्रिटिस गोर्खा सैनिकमा १५ वर्ष काम गरेका थिए ।

उनले ब्रिटिस नागरिकता र नेपाली गैरआवासीय नागरिकता पनि लिएका छन् । सन् २०१९ मा पुर्जाले आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गर्ने उद्देश्यले ‘प्रोजेक्ट पोसिबल’ नामक अभियान सुरु गरेका थिए ।

उनले नेपालका आठ हजार मिटर अग्ला ६ वटा हिमाल ३१ दिनमा र पाकिस्तानका पाँच हिमाल २३ दिनमा आरोहण गरेका थिए । उनले सगरमाथा र अन्य तीन चुचुरा ४८ घण्टा ३० मिनेटभित्रै आरोहण गरे भने ६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका थिए ।

पुर्जाको कीर्तिमानीबारे ‘१४ पिक्स ः नथिङ इज इम्पोसिबल’ नामक वृत्तचित्र बनेको छ । शुक्रबार आरोहण दलका पुरबहादुर गुरुङ र ओमानी आरोही नाधिरा अल हार्थीको शव फेला परेको र पहिचान भएको पुष्टि भएको थियो । अमेरिकी आरोही मेलोरी गिसको एउटा खुट्टा हिमपहिरोमा फेला परेसँगै मृत घोषणा गरिएको थियो । 

सुझावित समाचार