सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेले मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन् । दुवै दलका संसदीय दलका पदाधिकारी र केही सांसदले सोमबार मुख्यमन्त्रीलाई भेटेर सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिन आग्रह गरेका हुन् ।
मुख्यमन्त्री शाहले भने तत्काल राजीनामा दिन अस्वीकार गर्दै संविधानले दिएको समयसीमासम्म जिम्मेवारीमा रहने जवाफ दिएका छन् । नेकपा संसदीय दलका नेता खगराज भट्ट, उपनेता प्रकाश रावल, एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी थापा शर्मालगायतले मुख्यमन्त्रीलाई भेटेका हुन् ।
उनीहरूले प्रदेश बजेट शून्यताको अवस्थामा रहेको तथा नेकपा–एमालेबिच सत्ता सहकार्यको सहमतिपछि वैकल्पिक सरकारको सम्भावना पनि नरहेकाले मुख्यमन्त्रीलाई नैतिकता देखाएर राजीनामा दिन आग्रह गरेका थिए । सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि नेकपा र एमाले अल्पमतमा रहेका मुख्यमन्त्री शाहको बहिर्गमन पर्खिरहेका छन् । तर, उनले राजीनामा नदिएपछि नयाँ सरकार गठन अझै केही दिन लम्बिने देखिएको छ ।
नेकपा संसदीय दलका नेता भट्टले मुख्यमन्त्री मार्गप्रशस्त गर्न तयार नदेखिएकाले नयाँ सरकार गठनका लागि केही दिन कुर्नुपर्ने देखिएको बताए । अल्पमतमा परिसकेकाले राजीनामा दिएर सरकार गठनको बाटो खोलिदिन गरेको आग्रहको जवाफमा मुख्यमन्त्रीले संविधानले दिएको अधिकार प्रयोग गर्ने जवाफ दिएको नेता भट्टले बताए । ‘हामीले राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गर्यौँ, उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्छु भन्नुभयो,’ भट्टले भने, ‘उहाँको अधिकार रोक्न सक्दैनौँ । अब नयाँ सरकार गठनका लागि साउन २८ गतेसम्म कुर्नपर्ने अवस्था देखिएको छ ।’
मुख्यमन्त्रीसँगको भेटमा नेता भट्टले विगतमा कांग्रेससँगको चुनावी सहकार्य र त्यसवेला भएको भावी मुख्यमन्त्रीको चर्चाको प्रसंग पनि उठाएका थिए । ‘त्यसवेला कांग्रेससँग हाम्रो सहकार्य थियो । शेरबहादुर देउवा र प्रचण्डले मलाई मुख्यमन्त्रीमा अघि सार्नुभो, तर म मुख्यमन्त्री हुने परिस्थिति भएन । तपाईंको घोषणा थिएन, दुईपटक मुख्यमन्त्री हुनुभो,’ उनले भनेका थिए, ‘हिजो जे–जस्तो भए पनि यसपटक राजीनामा दिएर सरकार गठनमा सहयोग गरिदिनोस् ।’