सिद्दिकी समसुद्दिनले एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि उनी उज्वेकिस्तानको तास्कन्द जाँदै छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठलगायतले उनलाई बुधबार बिदाइ गरेका थिए । बिदाइमा श्रेष्ठले भने, ‘खेलाडीहरू सबैको केन्द्रमा रहन्छन् । तर, खेलकुदको विकासमा प्राविधिक जनशक्तिहरू टेक्निकल अफिसर, रेफ्री, प्रशिक्षक, म्यानेजर र अन्य सहयोगीको भूमिका उत्तिकै विशेष हुन्छ ।’
श्रेष्ठले नेपाल भारोत्तोलन संघको निरन्तर प्रयासले नेपाली टेक्निकल अफिसियलहरूले लगातार अन्तर्राष्ट्रिय एक्सपोजर पाइरहेको बताए । यसको श्रेय संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई दिनुपर्ने उनले बताए । प्रतियोगिता २२ देखि २९ साउनसम्म हुनेछ ।