प्रविधिको दुरुपयोग गर्दै इन्ड्राइभमार्फत लागुऔषध डेलिभरी गर्ने गिरोह पक्राउ, ४३ ग्राम ब्राउन हेरोइन बरामद

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले प्रविधि र राइड–सेयरिङ सेवा इन्ड्राइभको प्रयोग गरी लागुऔषध कारोबार गर्दै आएको एक गिरोहका तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ४३ ग्राम ब्राउन हेरोइन, दुईवटा डिजिटल तराजु, ११ थान मोबाइल फोन तथा नगद ५० हजार रुपैयाँ बरामद गरिएको ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार गिरोहले सप्तरीबाट भुजाको बोराभित्र लुकाएर ब्राउन हेरोइन काठमाडौं आउने हाइसमा पठाउने, त्यसलाई मोटरसाइकलमार्फत निगरानी गर्दै काठमाडौंसम्म ल्याउने र ग्राहकसँग इन्ड्राइभमार्फत रकम प्राप्त गरेपछि पुनः इन्ड्राइभ नै प्रयोग गरेर लागुऔषध डेलिभरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

डेलिभरीमार्फत प्राप्त लागुऔषध रिसिभ गर्ने व्यक्तिले काठमाडौंको गोंगबु–मित्रनगरस्थित एक गेस्ट हाउसमा बसेर ब्राउन हेरोइन बिक्री–वितरण गर्दै आएको प्रहरीले जनाएको छ।

यस क्रममा प्रहरीले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका– ७ का ३४ वर्षीय हितबहादुर बस्नेत, सप्तरीको राजगढ गाउँपालिका– ७ का १९ वर्षीय रामकृष्ण शर्मा तथा धनुषाको जनकनन्दिनी गाउँपालिका– ३ का २१ वर्षीय धनञ्जय पासवानलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार हितबहादुर बस्नेतले गेस्ट हाउसबाट लागुऔषध बिक्री–वितरण गर्ने, रामकृष्ण शर्माले भक्तपुरमा बस्दै इन्ड्राइभमार्फत लागुऔषध पठाउने तथा धनञ्जय पासवानले रामकृष्णलाई ब्राउन हेरोइन उपलब्ध गराउने भूमिका निर्वाह गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका तीनैजनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

ब्युरोले सार्वजनिक गरेको जानकारीअनुसार पक्राउ परेकामध्ये एकजना स्कुलबसका चालक रहेका छन् भने अर्का एकजना आइटी इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुन्। अनुसन्धानका क्रममा लागुऔषध खरिदकर्ता र विक्रेताबिच पाँचपटकसम्म कारोबार हुँदा पनि उनीहरू प्रत्यक्ष रूपमा आमने–सामने नभएको तथ्य खुलेको छ।

प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले प्रविधि तथा राइड–सेयरिङ सेवाको दुरुपयोग गरी हुने लागुऔषध कारोबार नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाइएको बताएका छन्।

सुझावित समाचार