इलाम सदरमुकामलाई झापासँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्डसँगै वैकल्पिक मार्गसमेत अवरुद्ध बनेका छन् । सोमबार रातिदेखिको वर्षाले राजदुवाली तथा सिमलगोलाई–तिल्केनी र मेची करिडोर अवरुद्ध बनेपछि यातायात ठप्प बनेको छ । सुरक्षाकर्मीले बोकेर बिरामीको उद्धार गरिरहेका छन् ।
राजदुवालीको वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी सडकमा पर्ने जोगमाई खोलामा आएको बाढीले डाइभर्सन भत्काएको छ । त्यस्तै, पुवा खोलाको बाढीले डाइभर्सन बगाउँदा झापादेखि इलाम सदरमुकाम जोड्ने मेची करिडोर पनि अवरुद्ध छ ।
इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले झापाबाट इलाम सदरमुकाम जोड्ने यातायात पूर्ण रूपमा अवरुद्ध भएको बताए । ‘अहिले इलाम घेराबन्दीमा परेजस्तै भएको छ । राजदुवाली असारदेखि नै बन्द छ । काम सकिएर दुई–तीन दिनमा ग्राभेल हुन्छ र सञ्चालनमा आउँछ भन्ने थियो । फेरि वर्षा भएपछि सडकमा क्षति पुगेको छ,’ उनले भने, ‘वैकल्पिक सडक पनि खोलाले डाइभर्सन बगाएपछि अहिले झापा–इलाम सदरमुकामको यातायात आवागमन ठप्प छ । सिमलगोलाई–तिल्केनी सडक ग्राभेल गरेर केही सहज बनाइएको थियो । तर, जोगमाई खोलाले डाइभर्सन बगाएको छ ।’
वैकल्पिक सडक तत्काल खुलाउने तयारी भए पनि लगातार पानी परेपछि मंगलबार सम्भव नभएको उनले बताए । ‘सडक खुलाउन मेसिन तयार अवस्थामा राखेका छौँ । तर, मंगलबार साँझसम्म नै पानी पर्यो । खोलामा पानी घटेको छैन,’ उनले भने, ‘ अब बुधबार खोलामा पानी घट्यो भने तत्कालै डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याउँछौँ ।’ सदरमुकाम आउन परेमा वा बाहिरनु परेमा राजदुवाली खण्डको करिब एक किलोमिटर हिँडेर जानुपर्ने अवस्था रहेको उनी बताउँछन् । बिरामीलाई भने सुरक्षाकर्मीले बोकेर राजदुवाली खण्ड पार गराउँदै आएको उनले बताए ।
१७ असारबाट नै हेल्पडेस्क स्थापना गरेर बिरामीको उद्धार हुँदै आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टिमले बिरामीको उद्धार गर्दै आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । एक महिनामा करिब ९० जना बिरामीको उद्धार गरिएको प्रहरीको भनाइ छ । मंगबार मात्रै तीन जना बिरामीलाई बोकेर यातायात सञ्चालन हुने स्थान माई खोलासम्म ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड बर्खा याम लागेसँगै सधैँको दुःख दिने गरेको छ । सामान्य वर्षामा नै पहिरोका कारण सडक भासिँदा नागरिकले सधैँ सास्ती भोग्नुपरेको हो । मेची राजमार्गको राजदुवाली खण्डअन्तर्गत करिब ७ सय मिटर सडक निरन्तर मर्मत गर्दा पनि समस्या आइरहेपछि सामान्य बर्खामा समेत अवरुद्ध हुँदै आएको छ । वैकल्पिक सडक समेत कच्ची हुँदा नागरिकको यात्रा कस्टकर बन्दै आएको हो । सडक डिभिजन कार्यालय इलामका अनुसार इलामको जारकलसदेखि हर्कटेसम्म सडक स्तरोन्नति, माइखोलाको पुल मर्मत र राजदुवाली मर्मतका लागि ०८४ असारमा काम सम्पन्न गर्न गरी २४ करोड ९३ लाख ७७ हजारमा जेएनजे निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ । तर, चैतदेखि निरन्तर पानी पर्दा काम सम्पन्न हुन सकेको छैन ।
पुवा खोलामा गत वर्षको बाढीले पुल बगाएको थियो । यसपटक बेलीब्रिज राख्ने भनिए पनि काम भएन । सडक अवरुद्ध हुँदा इलाम सदरमुकामबाट झापा जोड्ने मात्रै होइन इलामकै अन्य स्थानीय तहसँग सदरमुकामको सडक सम्पर्क विच्छेद हुने गरेको छ । राजदुवाली खण्डमा जोखिम मोलेर हिँडेर यात्रा गर्दै यातायात सञ्चालन हुने ठाउँसम्म आउनुपर्ने बाध्यता छ ।
इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने–बुधबार खोलामा पानी घट्यो भने तत्कालै डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याउँछौँ
अहिले इलाम घेराबन्दीमा परेजस्तै भएको छ । राजदुवाली असारदेखि नै बन्द छ । काम सकिएर दुई–तीन दिनमा ग्राभेल हुन्छ र सञ्चालनमा आउँछ भन्ने थियो । फेरि वर्षा भएपछि क्षति पुगेको छ । वैकल्पिक सडक पनि खोलाले डाइभर्सन बगाएपछि अहिले झापा–इलाम सदरमुकामको यातायात आवागमन ठप्प छ ।
सिमलगोलाई–तिल्केनी सडक ग्राभेल गरेर केही सहज बनाइएको थियो । तर, जोगमाई खोलाले डाइभर्सन बगाएको छ । सडक खुलाउन मेसिन तयारी अवस्थामा राखेका छौँ । तर, मंगलबार साँझसम्म नै पानी पर्यो । खोलामा पानी घटेको छैन । अब बुधबार पानी घट्यो भने तत्कालै डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याउँछौँ ।