मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

भूमिहीनका नाममा झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने

भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान समितिले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा अभिलेख पेस गर्ने व्यक्तिमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ।

समितिले जारी गरेको सूचनाअनुसार जग्गा प्राप्त गर्ने उद्देश्यले आफ्नो वास्तविक विवरण नदिने, गलत विवरण वा नक्कली अभिलेख पेस गर्ने वा त्यस्ता विवरणका आधारमा जग्गा तथा संरचना प्राप्त गरेको वा प्राप्त गर्ने प्रयास गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत रहँदा उपयुक्त : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभाग (राअवि) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहँदा राज्यको समग्र सुरक्षा, राष्ट्रिय हित र शक्ति सन्तुलनका दृष्टिले उपयुक्त हुने धारणा व्यक्त गरेकी छिन्।

‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि राज्य व्यवस्था समितिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गौतमले यो विधेयक कुनै नयाँ संरचना निर्माण गर्ने नभई कानुनी रिक्तता हटाएर साविकको व्यवस्था पुनः कायम गर्ने उद्देश्यले ल्याइएको बताइन्।

हिरासतमा हुने अस्वाभाविक मृत्यु : १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले हिरासतमा हुने अस्वाभाविक मृत्युविरुद्ध परेको रिटमा सरकारलाई १५ दिनभित्र लिखत जवाफ पेस गर्न आदेश गरेको छ। सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो। 

राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन रक्षा, हिरासतगत सुरक्षा, र संरक्षकीय दायित्वलाई  सुनिश्चित गर्न भन्दै अधिवक्ता कुमार थपलियाले सर्वोच्चमा रिट दर्ता गरेका थिए। सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो। आदेशमा सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयलाई  अबको १५ दिनभित्र जवाफ पेस गर्न भनिएको छ। 

राजीनामा दिन मुख्यमन्त्री शाहलाई नेकपा र एमालेको आग्रह, अन्तिम समयसम्म नछाड्ने मुख्यमन्त्रीको जवाफ

सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेले मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन्। दुवै दलका संसदीय दलका पदाधिकारी र केही सांसदले सोमबार मुख्यमन्त्रीलाई भेटेर सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिन आग्रह गरेका हुन्।

मुख्यमन्त्री शाहले भने तत्काल राजीनामा दिन अस्वीकार गर्दै संविधानले दिएको समयसीमासम्म जिम्मेवारीमा रहने जवाफ दिएका छन्। नेकपा संसदीय दलका नेता खगराज भट्ट, उपनेता प्रकाश रावल, एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी थापा शर्मालगायतले मुख्यमन्त्रीलाई भेटेका हुन्।

१० हजार धरौटीमा छुटे परराष्ट्रका सहसचिव भट्टराई

ट्राभल डकुमेन्ट दुरुपयोगको आरोपमा पक्राउ परेका परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई १० हजार रुपैयाँ धरौटीमा छुटेका थिए। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले राहदानीसम्बन्धी कसुरमा उनीसँग धरौटी माग गरेको हो। धरौटी बुझाएर उनी मंगलबार रिहा भएका छन्। 

जिल्ला सरकारी वकिल कार्यालयले एक साताअघि उनीविरुद्ध मुद्दा दायर गरेको थियो। अदालतमा उपस्थित नभएका भट्टराईलाई सिआइबीले सोमबार पक्राउ गरेको थियो। 
०६६ मा परराष्ट्र मन्त्रालयबाट करिब पाँच सय ट्राभल डकुमेन्ट गायब बनाइएको घटनामा उनी पक्राउ परेका हुन्। गत माघमा सिआइबीले उनीसँग बयान लिएको थियो। त्यति वेला नै प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकामा सरकारी वकिलले ११ साउनमा मुद्दा दायर गरेको हो। अदालतको आदेशअनुसार उनी १० हजार रुपैयाँ धरौटीमा छुटेको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। 

सुकुमवासीको मुद्दामा सरकारले स्टन्ट चाहेको थियाे, समाधान होइन : भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासीको मुद्दामा सरकारले समाधान नभई स्टन्ट मात्र खोजेको आरोप लगाएका छन्। 

मंगलबार प्रतिनिधिसभामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा आङ्देम्बेले यस्तो टिप्पणी गरेका हुन्।

विदेशबाट फर्कनेलाई प्रहरीको अनुरोध– अरूको सामान नबोक्नुहोला

विदेशबाट फर्कने क्रममा अपरिचित व्यक्तिले दिएको झोला नबोक्न प्रहरीले आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले मंगलबार सूचना निकाल्दै त्यस्ता झोलाभित्र तस्करीको सुन तथा अवैध सामान हुन सक्ने भएकाले सचेत रहन भनेको हो। 

अरूको सामान बोकेर आउनेहरू बारम्बार अवैध सुनलगायत सामानसहित पक्राउ परेपछि यस्तो अनुरोध गरिएको प्रहरीले जनाएको छ। 

वीरगन्ज घण्टाघरको घडी फरक–फरक समय देखाउँदै, मर्मत–सम्भारको जिम्मा पाएकाले पाएनन् भुक्तानी

वीरगन्जको धरोहरका रूपमा रहेको घण्टाघरको घडी अहिले मर्मत–सम्भारको अभावमा सही समय दिन छाडेको पाइएको छ। सहरको मुटुमा रहेको घण्टाघरका चारवटै घडीले अहिले फरक–फरक समय देखाइरहेका छन्।

गत वर्ष घण्टाघरको रंगरोगन गरिए पनि त्यस क्रममा घडीको मर्मत–सम्भार नगरिएकाले अहिले चारवटै घडीले सही समय दिन छाडेको नगरवासी बताउँछन्।

नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबिच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै महत्त्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल गरेको जनाएको छ।

भ्रमणका क्रममा विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थासँग उच्चस्तरीय छलफल हुनुका साथै ‘वन हेल्थ’ अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

एमबिबिएस र बिडिएसका इन्टर्न डाक्टरहरू अनशनमा

एमबिबिएस र बिडिएसका इन्टर्न डाक्टरहरू आमरण अनशनमा उत्रिएका छन्। चार महिनादेखि अघि सारेका मागमा सरकारले चासो नदिएपछि इन्टर्न डाक्टरहरूले माइतीघर मण्डलामा अनशन सुरु गरेका हुन्।

आन्दोलनरत इन्टर्न डाक्टरहरूको नेतृत्व गरेका डिल्ली हरिजनले मंगलबारदेखि अनशन थालेका छन्। यसअघि सरकारसँग सम्झौता भए पनि ती पूरा नभएपछि अनशन बस्न बाध्य भएको हरिजनले बताए।

सुझावित समाचार