एमबिबिएस र बिडिएसका इन्टर्न डाक्टरहरू आमरण अनशनमा उत्रिएका छन्। चार महिनादेखि अघि सारेका मागमा सरकारले चासो नदिएपछि इन्टर्न डाक्टरहरूले माइतीघर मण्डलामा अनशन सुरु गरेका हुन्।
आन्दोलनरत इन्टर्न डाक्टरहरूको नेतृत्व गरेका डिल्ली हरिजनले मंगलबारदेखि अनशन थालेका छन्। यसअघि सरकारसँग सम्झौता भए पनि ती पूरा नभएपछि अनशन बस्न बाध्य भएको हरिजनले बताए।
इन्टर्न डाक्टरहरूले पेसागत सुरक्षासहित शिक्षण अस्पतालहरूले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गरेका छन्। यसअघि पटक-पटक स्वास्थ्य र शिक्षा मन्त्रालयसँग संवाद तथा छलफल गरे पनि सम्बन्धित मन्त्रालय र चिकित्सा शिक्षा आयोगले चासो नदिएको इन्टर्न डाक्टरहरूले बताएका छन्।
‘हामीले चार–पाँच महिनादेखि आन्दोलन थालेका हौँ। तर, यसअधि एक किसिमको कार्यदल बन्यो, त्यसले प्रतिवेदन पनि तयार पार्यो, तर त्यसको कार्यान्वयन नै भएन,’ उनले भने, ‘अब माग पूरा नभएसम्म अनशन जारी रहन्छ। इन्टर्न डाक्टरमाथि श्रम शोषण भएको छ, २४ घण्टासम्म लगातार ड्युटी गर्नुपरेको छ, तोकिएको भन्दा बढी शुल्क तिर्नुपरेको छ।’