नेपाली कांग्रेसका सांसद निस्कल राईले सुनसरी घटनापछि उत्पन्न तनाव समाधानका लागि सर्वदलीय बैठक आह्वान गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संवेदनशील घटनामा राजनीतिक प्रतिस्पर्धाभन्दा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिनु सकारात्मक कदम भएको बताए।
राईले धार्मिक तनावलाई हिन्दु–मुस्लिम द्वन्द्वमा रूपान्तरण हुन नदिन प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा तथा स्थानीयवासीले खेलेको भूमिकाले ठुलो दुर्घटना टार्न सहयोग पुगेको उल्लेख गरे।
उनले इतिहासले धर्मका नाममा सुरु भएका द्वन्द्वले अन्ततः कुनै धर्मलाई विजयी नबनाई मानवतालाई नै पराजित गरेको कठोर सत्य बारम्बार देखाएको भन्दै सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे।
राईले शान्तिको अर्थ केवल कर्फ्यु हटाउनु वा सडक सञ्चालन गर्नु मात्र नभएको उल्लेख गर्दै नागरिकको मनबाट डर हट्नु, न्यायप्रति विश्वास जाग्नु र एक समुदायले अर्को समुदायलाई पुनः छिमेकीका रूपमा स्वीकार गर्ने वातावरण बन्नु नै वास्तविक शान्ति भएको बताए।
त्यसैगरी उनले सरकार र आन्दोलनरत पक्षबिच भएको १३बुँदे सहमतिप्रति पनि गम्भीर प्रश्न उठाउँदै वार्ताका क्रममा एउटा पक्षलाई सम्बोधन गर्दा अर्को पक्षलाई अन्याय हुने गरी काम गर्न नहुने धारणा राखे।