- १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता, ३ सहप्रवक्ता र ५१ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका वडा, पालिका र जिल्लाको अधिवेशन गर्न परिपत्र गरेको छ । पार्टीको निर्वाचन आयोगले परिपत्रमार्फत पार्टीको पुरानै विधान, कार्यविधि र नियमअनुसार अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।
असार दोस्रो साता चितवनमा प्रथम महाधिवेशन गरेको रास्वपाका १५ सयभन्दा बढी वडा, केही पालिका र १२ जिल्लामा अधिवेशन गर्न बाँकी छ । स्थानीय तहको निर्वाचनमा जुट्नुपर्ने समय आएको भन्दै रास्वपाले बाँकी अधिवेशनहरू छिटो गर्ने तयारी गरेको हो ।
जिल्ला अधिवेशनहरू प्रथम महाधिवेशनकै चक्र भएकाले पुरानै विधान, कार्यविधि र नियमअनुसार अगाडि बढाउन परिपत्र गरिएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताए । ‘प्रथम राष्ट्रिय महाधिवेशनपछि नयाँ विधान आएको छ । तर, बाँकी रहेका अधिवेशनहरू पुरानै चक्र हो,’ उनले भने, ‘प्रथम महाधिवेशनकै अंश भएकाले पहिलाकै नियम लागू हुन्छन् ।
पार्टीका महामन्त्री विपिन आचार्यले स्थानीय तहको निर्वाचनमा जुट्न पनि बाँकी रहेका ठाउँमा छिटो अधिवेशन गर्ने गृहकार्य भइरहेको बताए । उनका अनुसार एक प्रदेश, १२ जिल्ला, केही पालिका र १५ सय वडामा अधिवेशन बाँकी छ । ‘अधिवेशनहरू जतिसक्दो छिटो सकाउने गरी उच्च प्राथमिकतामा छ,’ उनले भने । प्रतिनिधि छनोट विवादले राष्ट्रिय महाधिवेशनअघि धेरै ठाउँमा रास्वपाको अधिवेशन हुन सकेको थिएन ।
७–१२ असारमा चितवनमा प्रथम महाधिवेशन गरेको रास्वपाले नयाँ नीति र नेतृत्व चुनेको छ । नयाँ नीतिमा संवैधानिक समाजवादबाट सामाजिक लोकतन्त्रमा सिफ्ट भएको छ भने नेतृत्वमा लामिछाने दोहोरिएका छन् ।
आगामी बैठकबाट पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत
सभापति लामिछानेले उपसभापति, महामन्त्री, सहमहामन्त्री दुई, कोषाध्यक्ष, सहकोषाध्यक्ष दुई, प्रवक्ता, सहप्रवक्ता तीन मनोनीत गर्न बाँकी छ । यसैगरी, ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्न बाँकी छ । महामन्त्री आचार्यले आगामी केन्द्रीय समितिले मनोनीत गर्न सक्ने बताए । १३ साउनमा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनीत गरेको छ ।
७–१२ असारमा चितवनमा प्रथम महाधिवेशनबाट सभापतिमा लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले, सोविता गौतम, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन् । यसैगरी, महाधिवेशनमा करिब चार हजार प्रतिनिधिले ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको तयारीमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गृहकार्यमा जुटेको छ । पार्टीले विभिन्न पालिका, जिल्ला, सातैवटा प्रदेश र केन्द्रीय तहमा युवा दिवस मनाउने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।
१३ साउनमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार केन्द्रीय सदस्य एवं पार्टीका पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको थियो ।
आयोजक समितिले साथै प्रदेशका सभापतिहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा पत्राचार गर्ने, साथै प्रदेशमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने र उपसमिति निर्माण गरेको छ ।
युवा दिवसको अवसरमा संसद्सम्म युवाको आवाज अन्तरसंवाद कार्यक्रम, इनिस्पाइरिङ मेसेज कम्पिटिसन, राष्ट्रव्यापी सरसफाइ कार्यक्रम, खेलकुद, रक्तदान कार्यक्रम, अन्तरसंवाद, विभिन्न विषयमा छलफल, नीति मन्थनलगायतका कार्यक्रमहरू गर्ने तयारी छ ।