मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा माथिबाट ढुंगा खस्दा सोमबार बिहान सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७:४० बजेतिर माथिबाट ढुंगा खसेको हो । ढुंगा खसेपछि नयाँ पुलतर्फको आवागमन प्रभावित भएको छ । सुरक्षालाई मध्यनजर गर्दै हाल पुरानो पुलबाट मात्रै एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिएको सडक डिभिजनले जनाएको छ ।
सडक डिभिजनका अनुसार घटनापछि सडक डिभिजनले पहिरो तथा ढुंगा हटाउन आवश्यक मेसिन तथा उपकरण तत्काल परिचालन गरिएको छ । थप ढुंगा नखसेको अवस्थामा सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन करिब एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको छ ।
वर्षायामसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा पटक–पटक पहिरो र ढुंगा खस्ने घटना दोहोरिँदै आएका कारण यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । सडक डिभिजनले हालको अवस्थामा नयाँ पुलतर्फ आवागमन नगरी पुरानो पुलबाट मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।
सडक डिभिजन कार्यालयले सडकको अवस्थाबारे नियमित अद्यावधिक सूचना हेरेर मात्र यात्रा गर्न र जोखिमपूर्ण स्थानमा अनावश्यक रूपमा सवारी नरोक्न चालकलाई आग्रह गरेको छ । साथै, मौसम प्रतिकूल रहेकाले पहिरो र ढुंगा खस्ने जोखिम अझै कायम रहेको जनाउँदै यात्रु तथा चालकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।