सुदूरपश्चिममा नयाँ सरकार गठन हुन अझै केही समय लाग्ने देखिएको छ । मुख्यमन्त्री कमलबहादुर शाह तत्काल मार्गप्रशस्त गर्न तयार नदेखिएकाले नयाँ सरकार गठन हुन केही दिन लाग्ने देखिएको हो ।सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी र एमाले मुख्यमन्त्री शाहको निर्णय पर्खाइमा छन् । गत ३१ असारमा अल्पमतमा परेका मुख्यमन्त्री शाह भने संविधानले दिएको समयसीमासम्म जिम्मेवारीमा रहिरहने मनस्थितिमा छन् ।
एमालेसँग सत्ता सहकार्यको सहमतिपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपाले मुख्यमन्त्री शाहलाई नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरिसकेको छ । मुख्यमन्त्री भने अहिले नै राजीनामा नगर्ने अडान लिएका छन् ।संविधानअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।
मुख्यमन्त्री शाहले संविधानको सोही समयसीमाभित्र रहेर विश्वासको मत लिने वा राजीनामा दिने विकल्पमा निर्णय लिने बताएका छन् । ‘संविधानले दिएको समय सीमाभित्रै निर्णयमा पुग्छु, त्यसका लागि अझै केही दिन छ,’ नयाँ पत्रिकासँग उनले भने । एमालेले समर्थन फिर्ता लिएपछि गत ३१ असारमा अल्पमतमा परेका मुख्यमन्त्री शाहसँग २९ साउनभित्र विश्वासको मत लिने वा राजीनामा दिने विकल्प छ । एमालेसँगको सहमतिअनुसार सरकारको नेतृत्व गर्ने तयारी रहेको नेकपाले भने प्रदेशमा बजेटविहीनताको स्थिति रहेकाले राजीनामा दिएर जतिसक्दो चाँडो नयाँ सरकार गठनको बाटो खोलिदिन दबाब दिएको छ ।
नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले मुख्यमन्त्री पद छोड्न तयार नदेखिएकाले यो महिनाको अन्तिमतिर मात्र नयाँ सरकार गठन हुने स्थिति रहेको बताए । ‘प्रदेशमा बजेट रिक्तताको स्थिति छ । यो स्थिति लामो समय जान नदिन पनि जतिसक्दो चाँडो नयाँ सरकार गठन आवश्यक छ,’ उनले भने, ‘अल्पमतमा परिसकेका मुख्यमन्त्रीले यस्तो अवस्थामा नैतिकता देखाएर आफैँ पद छोड्नुपर्ने हो ।’