अपार्टमेन्टबाट दुई अर्बको सट्टेबाजी कारोबार : ५६ सय ७० बैंक खाता रोक्का, गिरोहको मुख्य नाइके मलेसियाली नागरिक

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

मलेसियाली नागरिकको नेतृत्वमा सञ्चालित अनलाइन सट्टेबाजी गिरोहले नेपाली युवा परिचालन गरी करिब दुई अर्ब रुपैयाँबराबरको कारोबार गरेको खुलेको छ । अनुसन्धानका क्रममा यसमा हजारौँ नेपाली युवाको संलग्नता देखिएको छ भने प्रहरीले हालसम्म एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 

गत १ साउनमा प्रहरीले काठमाडौंस्थित ‘एस अपार्टमेन्ट’को ३०५ नम्बर युनिटमा छापा मारेर चारजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कालिकोटको तिलगुफा–३ का २० वर्षीय टेकेन्द्रबहादुर शाही, बर्दियाको बाँसगढी–२ का २६ वर्षीय विश्व रेग्मी, बढैयाताल–८ का २३ वर्षीय अजय मटहरा तथा बाँकेको नेपालगन्ज–९ का २६ वर्षीय आदित्य बामिल्की छन् । सोही गिरोहसँगको संलग्नतामा बर्दिया बढैयाताल–१ का ४१ वर्षीय राजु तिमल्सिनालाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार हालसम्मको अनुसन्धानमा उक्त गिरोहले करिब दुई अर्ब रुपैयाँबराबरको सट्टेबाजी कारोबार गरेको देखिएको छ । गिरोहको मुख्य सञ्चालक भने मलेसियाली नागरिक रहेको उनले बताए ।

अनुसन्धानका क्रममा सट्टेबाजी कारोबारसँग सम्बन्धित ५ हजार ६७० वटा बैंक खाता रोक्का गरिएको छ । अनुसन्धानपछि संलग्नता नदेखिएका केही व्यक्तिका बैंक खाता भने फुकुवा गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा सामाजिक सञ्जालमार्फत प्रचार गरी उनीहरूले बेटिङका लागि प्रोत्साहनमा पार्दथे । एडब्लू ८, खल्ती ८८, आरडब्लु ८, आइएमई ८८ जस्ता बेटिङ साइटमार्फत सट्टेबाजी खेलाउने गरेको प्रहरीले जनाएको छ । उनीहरूले दर्ता बोनस तथा रेफरस बोनसमार्फत खेल्न प्रोत्साहित गर्दथे । खेल्न छाडेकालाई बोनस अफर गरेर फेरि खेलाउने गरेकोसमेत अनुसन्धानले देखाएको छ । ह्वाट्सएप तथा टेलिग्राममार्फत २४औँ घन्टा सट्टेबाजी खेल्नेहरूलाई परामर्श दिने गरेकोसमेत अनुसन्धानमा खुलेको छ । 

कारोबारका लागि अन्य व्यक्तिको नाममा सिमकार्ड निकाल्ने तथा म्युल बैंक खाता प्रयोग गर्दै आएको एसएसपी घिमिरे बताउँछन् । ‘छुट्टै डिभाइस नै राखेर उनीहरूले सट्टेबाजी धन्दा चलाउने गरेको देखिन्छ,’ उनी भन्छन्, ‘कतिपय विषयमा अनुसन्धान जारी छ ।’ बैंक खाता सञ्चालन र सिम निकाल्न उनीहरू प्रत्यक्ष संलग्न नभई मध्यस्थ भई काम गरेकोसमेत खुलेको छ । त्यसरी ठुलो संख्यामा सिमकार्ड निकालेर गिरोहलाई सघाउने एक व्यक्ति पनि प्रहरी नियन्त्रणमा आएका छन् । 

सट्टेबाजी गिरोहमा जोडिएका मलेसियन नागरिकहरू पनि केही दिनका लागि आउने गरेको र उपकरण जडान गरेर फर्किहाल्ने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । त्यसरी नेपाल आएका मलेसियन नागरिकहरू ली झी हान र तेउ काई जीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरूले नेपालका एजेन्टलाई खर्च पठाउने गरेका थिए ।

यस प्रकरणमा प्रहरीले सट्टेबाजीको प्रचारप्रसार तथा कारोबारमा संलग्न रहेको आरोपमा पाल्पाको तानसेनका सुदन सुवेदी, पाँचथर याङ्वरकका सबनम बानियाँ, बारा कलैयाका गौतमकुमार गुप्ता, रुपन्देही बुटवलका प्रत्युष मानसिंह, सिन्धुपाल्चोक चौताराका उत्सव कटवाल तथा साजन तामाङलाई पनि पक्राउ गरिसकेको छ । अनुसन्धानअनुसार उत्सव कटवालले २ करोड ३० लाख, साजन तामाङले १ करोड ४७ लाख, प्रत्युष मानसिंहले १ करोड ३७ लाख तथा गौतमकुमार गुप्ताले ७० लाख रुपैयाँभन्दा बढीको सट्टेबाजी कारोबार गरेको खुलेको छ ।

पक्राउ परेकामध्ये केही अदालतको आदेशमा 
धरौटीमा रिहा भएका छन् भने केही अझै पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले अपार्टमेन्टबाट सट्टेबाजीका लागि प्रयोग गरिएका विभिन्न उपकरण, ल्यापटप र मोबाइल र सिमकार्ड पनि बरामद गरेको छ । 

एडब्लू ८, खल्ती ८८, आरडब्लु ८, आइएमई ८८ जस्ता बेटिङ साइटमार्फत सट्टेबाजी खेलाउने गरेको प्रहरीले जनाएको छ । उनीहरूले दर्ता बोनस तथा रेफरस बोनसमार्फत खेल्न प्रोत्साहित गर्दथे । खेल्न छाडेकालाई बोनस अफर गरेर फेरि खेलाउने गरेकोसमेत अनुसन्धानले देखाएको छ । ह्वाट्सएप तथा टेलिग्राममार्फत २४औँ घण्टा सट्टेबाजी खेल्नेहरूलाई परामर्श दिने गरेकोसमेत अनुसन्धानमा खुलेको छ । 

कारोबारका लागि अन्य व्यक्तिको नाममा सिमकार्ड निकाल्ने तथा म्युल बैंक खाता प्रयोग गर्दै आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरे बताउँछन् । ‘छुट्टै डिभाइस नै राखेर उनीहरूले सट्टेबाजी धन्दा चलाउने गरेको देखिन्छ,’ उनी भन्छन्, ‘कतिपय विषयमा अनुसन्धान जारी छ ।’ 

सुझावित समाचार