बाँकेको कोहलपुर नगरपालिका– ३, शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीनजना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारूको डिपिसी भई पिल्लर उठाइएको निर्माणाधीन घरको आँगनमा रहेको सेप्टिक ट्यांकीमा आज बिहान करिब ९ बजे तीनजना मजदुर फसेका थिए।
घटनापछि प्रहरीले जेसिबीको सहायताले सेप्टिक ट्यांकी फुटाएर उनीहरूलाई बाहिर निकालेको थियो। उद्धार गरिएका तीनैजनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका– ३ का करिब ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू रहेका छन्। प्रहरीका अनुसार मृतकहरूको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।