कपिलवस्तुको महाराजगन्ज नगरपालिका– २, गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकले दुईवटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ।
नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ख २३६४ नम्बरको ट्रकले दुईवटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो।
मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका– २, गैडहवानिवासी १२ वर्षीय पैदलयात्री आनन्द कश्यप, महाराजगन्ज नगरपालिका– ३, गनौरियाका करिब ४५–४६ वर्षीय विजयकुमार गुप्ता तथा सोही वडाका करिब ७५ वर्षीय भोल्लर कुर्मी रहेका छन्।
दुर्घटनाका क्रममा ट्रकले सडकछेउमा पार्किङ गरेर राखिएको लु.१४प ५५०५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो।
घटनापछि ट्रक र चालक मोरङको विराटनगर महानगरपालिका– ४ निवासी ४२ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक हाल सञ्चालनमा आइसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।